काठमाडौं । काङ्ग्रेसले सत्तारूढ गठबन्धन फेरबदल नहुने प्रस्ट पारेको छ ।
संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले पनि प्रतिपक्षी दलसँगको संवाद सामान्य रहेको भन्दै सरकार परिवर्तन गर्ने नभएर कार्यशैली परिवर्तनका पक्षमा काङ्ग्रेस रहेको ब्रिफिङ गरेका छन् ।
‘सरकार परिवर्तनको कुनै कुरा छैन । प्रतिपक्षी दलका नेतासँगको संवाद र छलफल सामान्य हो । कोही भेट्न आउँछ भने भेट त गर्नुपर्यो नि,’ देउवाले बैठकमा भनेको कुरा उद्दृत गर्दै प्रमुख सचेतक श्याम कुमार घिमिरेले बताए ।
बैठकमा सरकारको कार्यशैली परिवर्तनका विषयमा छलफल भएको सांसद हृदयराम थानीले बताए । ‘सरकारको कार्यशैली परिवर्तन गर्नुपर्छ कार्यशैली फेरिनुपर्छ भन्ने कुरा भएको छ । सरकार परिवर्तनको कुनै कुरा भएको छैन,’ उनले भने ।
कांग्रेस सांसद प्रकाशशरण महतले पनि डडेलधुराबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी सभापति शेरबहादुर देउवालाई फोन गर्नु संयोग मात्र भएको जानकारी दिए । यसअघि देउवाको गृह जिल्ला पुगेर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेको स्मरण गर्दै उनले प्रचण्डले पनि त्यहाँ पुगेर देउवालाई सम्झेको उल्लेख गरे ।
महतले ठुला दुई पार्टीको गठबन्धन रहेको अवस्थामा कांग्रेसका कुराहरू यथेष्ट सुनिएन की भन्ने चिन्ता सांसदहरूको रहेको बताए । कतिपय नियुक्तिमा भइरहेको ढिलाइका विषयमा पनि सांसदहरूले चासो व्यक्त गरेको उनले जानकारी दिए ।
बैठकमा सांसदहरूले समान ढंगले बजेटको वितरण हुनुपर्ने लगायतका सुझाव दिएका छन् । बैठकमा बजेट लगायतका विविध विषयमा छलफल गरिएको थियो । ‘सांसदहरूले बजेट वितरणको कुरा, सबैलाई समान ढंगले वितरण गर्नुपर्ने कुरा तथा सन्तुलित विकास हुनुपर्ने कुरा राख्नुभयो,’ प्रमुख सचेतक घिमिरले भने ।
Facebook Comment
Comment