हेटौंडा । चलचित्र पत्रकार सङ्घ नेपाल, मकवानपुर शाखाले चलचित्र पत्रकारिता दिवसको अवसरमा पत्रकार अनन्त वाग्ले, चलचित्र रङ्ग संयोजक रेनिस फागो र सञ्चारकर्मी गोकुल अधिकारीलाई पुरस्कृत गरेको छ ।
शनिबार एक कार्यक्रमका बीच बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले उनीहरुलाई पुरस्कार प्रदान गरेका हुन् ।
सङ्घले नन्दबहादुर महर्जन स्मृति राष्ट्रिय पत्रकारिता सम्मान-२०८२ बाट पत्रकार वाग्लेलाई नगद राशी ११ हजार १११ रुपैयाँसहित पुरस्कृत गरिएको छ । सङ्घले मकवानपुरमा जन्मिएर चलचित्र, कला साहित्य र संगीतमा राष्ट्रियस्तरमा सक्रिय रहेका चलचित्रकर्मीलाई स्व. धनमान श्रेष्ठ स्मृति कलाकर्मी सम्मान-२०८२ बाट रङ्ग संयोजक फागोलाई नगदसहित सम्मान गरेको छ । दुई सयभन्दा बढी चलचित्रमा रङ्ग संयोजन गरेका उनको चलचित्र प्रेम गीतका सिरिज्, काली, सेतो बाघ, १२ गाउँ, पिताम्बर, नरसिंहा अवतार चर्चित चलचित्र हुन् ।
त्यस्तै, मकवानपुरमा रहेर सक्रिय पत्रकारिता गरिरहेका रेडियो थाहा सञ्चारका स्टेशन म्यानेजर गोकुल अधिकारीलाई चलचित्र पत्रकारिता पुरस्कार-२०८२बाट पुरस्कृत गरिएको छ । अधिकारी दुई दशकदेखी रेडियोमा सक्रिय रहेका छन् ।
दिवसकै अवसरमा पहिलो पटक बोक्सीको घर चलचित्रमा अभिनय गरेर चर्चा कमाएकी हेटौंडाकी बालकलाकार शुपला सापकोटालाई अभिनय यात्रामा अझै सफलता मिलोस् भन्ने हेतुले प्रशंसा पत्रले सम्मान गरिएको थियो । विस २०५६ जेष्ठ ७ गते संघ स्थापना भएकाले हरेक वर्ष जेष्ठ ७ गते चलचित्र पत्रकारिता दिवस मनाउँदै आइरहेको छ ।
Facebook Comment
Comment