धनुषाको वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार (तस्वीरहरू)

नेपालभ्युज

धनुषाको वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप, अश्रुग्यास प्रहार (तस्वीरहरू)

जनकपुर । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ रम्दैयास्थित वान्डरल्याण्ड वाटर पार्कमा विद्यार्थी र प्रहरीबीच झडप भएको छ ।

शनिबार जनकपुरधामस्थित कृष्णा फाउन्डेसनले कक्षा १२ दिएका विद्यार्थीहरुका लागि भनेर मात्र एकसय रुपैयाँ शुल्क लाग्ने गरी कार्यक्रम आयोजना गरेको थियो ।

वाटरपार्कको क्षमताभन्दा बढी विद्यार्थीको उपस्थित भएपछि पार्क व्यवस्थापन र विद्यार्थीबीच तनाव उत्पन्न भएको थियो । सो क्रममा झडपसँगै तोडफोड हुँदा लाखौंको क्षति भएको वाटरपार्कका व्यवस्थापक अभिषेक गोइन्काले जानकारी दिए ।

कृष्णा फाउन्डेसनसँग सात सयदेखि नौ सयजना विद्यार्थी मात्र आउने भनि सहमति भएकोमा दुई हजारभन्दा बढी विद्यार्थी प्रवेश गर्न खोजेपछि झडप हुन पुगेको उनले बताए ।

आक्रोशित विद्यार्थीहरुले पार्कको मूल गेट, सीसीटीभी, सिसा, रुख विरुवा, गमला, टेन्ट, फलामको गेट, सामान राख्ने कोठा, कुर्सी, फलामलगायतमा तोडफोड गरेका छन् ।

विद्यार्थीले सडकमा चल्ने दुइवटा हाइसमा समेत तोडफोड गरेको जिल्ला प्रहरी धनुषाले जनाएको छ । विद्यार्थीहरु उग्र भएपछि अवस्थामा नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्याससमेत प्रहार गरेको छ ।

झडपमा पाँच जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । तोडफोडमा उत्रिएका १० जना विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अहिले व्यापक मात्रामा प्रहरी तैनाथ रहेका छन् ।

अवस्था सामान्य भएपछि कुल क्षतिको अनुमान गर्ने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

हेरौं तस्वीर –

 

तस्वीर – नेपाल न्यूज बैङ्क


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved