काठमाडौं । भारतले आतंकवादविरूद्धको आफ्नो कारबाहीबारे जानकारी गराउन सुरक्षा परिषद्मा रहेका पाँच राष्ट्रसहितका मुलुकमा संसदीय प्रतिनिधिमण्डल पठाउने भएको छ ।
पहलगाममा आतंवकवादी हमलापछि पाकिस्तानमा आतंकवादीलक्षित अपरेसन सिन्दुर चलाउनुको कारण र आतंकवादविरूद्धको आफ्नो कारबाहीबारे सात मुलुकलाई जानकारी गराउन लागेको हो । त्यसका लागि भारत सरकारले सर्वदलीय प्रतिनिधिमण्डल बनाएको छ । ६ दल सम्मिलित प्रतिनिधिमण्डलमा कूटनीतिज्ञ पनि रहने छन् ।
सरकारले गठन गरेको प्रतिनिधिमण्डलमा भारतीय कङ्ग्रेस पार्टीबाट शशी थरूर छन् । कङ्ग्रेससँग सरकारले प्रतिनिधिमण्डलका लागि नाम माग्दा चार जनाको नाम पठाएको थियो । उक्त सूचीमा थरूरको नाम नभएपनि उनलाई समावेश गराइएको छ ।
आफूलाई समावेश गराइएकोप्रति थरूरले भनेका छन्, ‘हालसालैको घटनाबारे भारतको राष्ट्रिय धारणा जानकारी गराउनका निम्ति पाँच मुख्य राजधानीमा जाने प्रतिनिधिमण्डलमा मलाई समावेश गराइएकोप्रति म कृतज्ञ छु । राष्ट्रिय हितका सवालमा मेरो आवश्यकता परेको खण्डमा म जहिले पनि उपलब्ध हुनेछु ।’ थरूर संसद्को वैदेशिक मामिला समितिका अध्यक्ष पनि हुन् ।
उक्त प्रतिनिधिमण्डलमा भाजपाबाट रविशंकर प्रसाद र बैजयन्त पाण्डा छन् । जनता दल युनाइटेडबाट सञ्जयकुरमा झा, द्रविदा मुन्नेत्रा कजहागम(डीएमके)बाट कानीमोजी करूणानिधी छन् । यस्तै, राष्ट्रवादी कङ्ग्रेसबाट सुप्रिया सुले र शिव सेनाबाट श्रीकान्त एकनथा सिन्डे छन् ।
उनीहरू २३ मे बाट १० दिने कूटनीतिक भ्रमणमा जानेछन् । २२ अप्रिलमा पहलगाममा आतंकवादी हमला हुँदा एक नेपालीसहित २६ जनाको ज्यान गएको थियो । त्यसको जवाफमा भारतले ७ मेबाट अपरेसन सिन्दुर चलाएको थियो ।
Facebook Comment
Comment