काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका तत्कालीन महासचिव एवं मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितप्रति उच्च सम्मान व्यक्त गरेका छन् ।
उनले आज (शनिबार) सामाजिक सञ्जालमार्फत मदन–आश्रितप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उच्च सम्मान व्यक्त गरेका हुन् । ‘मदन–आश्रितको पवित्र स्मृतिमा हामी शिर निहुराउँछौं । उहाँको विचार र मार्गदर्शन सधैँ हाम्रो प्रेरणा बन्नेछ । मदन–आश्रितप्रति भावपूर्ण श्रद्धाञ्जली र उच्च सम्मान व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले लेखेका छन् ।
प्रधानमन्त्री ओलीले ३२ वर्ष अगाडि आज (जेठ ३ गते)को दिन आफूहरूले जननेता भण्डारी र कुशल सङ्गठक आश्रितलाई गुमाएको स्मरण गरेका छन् । ‘जननेता मदन भण्डारीको अगुवाइमा प्रतिपादित जनताको बहुदलीय जनवाद (जबज)को मार्गदर्शक सिद्धान्तले लोकतान्त्रिक परिवर्तनलाई सफल बनायो,’ उनले भनेका छन् ।
एमालेका नेताद्वय भण्डारी र आश्रितको ३२औँ स्मृतिमा आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।
यस अवसरमा एमालेले आज बिहान बल्खुमा स्मृतिसभा गरिरहेको छ । जहाँ प्रधानमन्त्री ओली पनि सहभागी छन् । उनले भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् ।
तत्कालीन एमालेका महासचिव भण्डारी र सङ्गठन विभाग प्रमुख आश्रित २०५० जेठ ३ गते चितवनको दासढुङ्गा भन्ने ठाउँमा जीप दुर्घटना हुँदा निधन भएको थियो ।
आज ३२औँ मदन–आश्रित दिवस मनाइँदै, बल्खुमा स्मृतिसभा
Facebook Comment
Comment