काठमाडौं । हावाहुरीका कारण शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्णरुपमा प्रभावित भएको छ भने अन्तर्राष्ट्रियतर्फका विमानहरू केहीबेर आकाशमै फन्को मारेर अवतरण गरेका छन् ।
विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एअरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन् । ‘अहिले आन्तरिक उडान प्रभावित भएको छ । पूर्वबाट काठमाडौं आएका विमान पूर्वतिरै डाइभर्ट भएका छन् । काठमाडौंबाट पश्चिमतर्फ उडेका विमान काठमाडौं नै डाइभर्ट भएका छन्,’ उनले भने ।
उनका अनुसार चन्द्रगढी, विराटनगर, जनकपुर, भैरहवा, नेपालगञ्ज, धनगढी, सुर्खेतलगायत स्थानबाट उडेका विमान डाइभर्ट भएका हुन् । श्री एअरलाइन्सको विराटनगरबाट काठमाडौं उडेको विमान विराटनगरै फर्किएको छ । यती एयरलाइन्सको विराटनगर–काठमाडौं उडानका दुई विमान डाइभर्ट भएका छन् । भद्रपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एअरको विमान भद्रपुर नै फर्किएको छ । बुद्ध एयरको काठमाडौंबाट सुर्खेत उडेको विमान हावाहुरीका कारण काठमाडौं नै फर्किएको छ ।
त्यसैगरी काठमाडौंबाट धनगढी उडेको श्री एअरलाइन्सको विमान काठमाडौं नै फर्किएको छ । श्री एअरलाइन्सकै काठमाडौं भैरहवा उडानको विमान पनि काठमाडौं फर्किएको छ । सोही एअरलाइन्सको काठमाडौंबाट सुर्खेत र भैरहवा उडेका दुवै विमान काठमाडौं फर्किएका छन् । बुद्ध एयरको काठमाडौं–नेपालगञ्ज उडानको विमान पनि काठमाडौं फर्किएको छ । काठमाडौंमा शुक्रबार अपरान्हदेखि मौसम बदली भई हावाहुरीसहित वर्षा भएको छ ।
Facebook Comment
Comment