काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ अध्यक्ष रवीन्द्र मिश्रले राजनीतिक रूपमा राजसंस्था पुनर्स्थापनाको आन्दोलन गर्दा राज्यविरूद्धको अपराध नहुने बताएका छन् ।
सर्वोच्च अदालतको आदेशले कानुन व्यवसायीको रोहबरमा हिरासमुक्त भएलगत्तै संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले भने, ‘म राजनीतिक व्यक्ति हुँ । मैले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गरेकै हो । राज्यविरूद्धको अपराध र उपद्रव होइन ।’
राजनीतिक आन्दोलन सरकारको नियन्त्रणमा नहुने तर्क उनले गरेका छन् । थरूहट आन्दोलन, मधेश आन्दोलनलगायतका आन्दोलनमा पनि जनधनको क्षति भएको देखेर आफूले पहिलेदेखि नै शान्तिपूर्ण संक्रमणमा नवीन समझदारीको प्रस्ताव गरेको उनले बताए । हिरासमुक्त गर्ने अदालतको आदेशपछि उनले भने,’म हाजिरी जमानीमा छुटेको हुँ । अन्यायविरुद्ध म लडिरहन्छु ।’
आफूसँग बन्दी प्रत्यक्षीकरणका लागि पर्याप्त आधार कारण भए पनि पक्राउ परेपछि राज्यको अनुसन्धानलाई सघाउन हिरासत बसेको उनले बताए । राज्यले प्रतिशोध राखेपछि ४७ औँ दिनमा बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्चमा निवेदन दिएको उनले बताए ।
बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले शुक्रबार उनलाई थुनामुक्त गर्ने आदेश दिएको हो ।
Facebook Comment
Comment