दीपेन्द्रलाई उपकप्तान बनाएपछि सन्दीप असन्तुष्ट भएका हुन् ?

दीपेन्द्रलाई उपकप्तान बनाएपछि सन्दीप असन्तुष्ट भएका हुन् ?

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले  नेपाल क्रिकेट संघ क्यानसँगको ‘सेन्ट्रल कन्ट्रायक्ट’ लाई निरन्तरता नदिने घोषणा गर्नुका पछाडि उनले अब कप्तानी नपाउने विषयसँग जोडिएको दाबी गरिएको छ ।

क्यानले ए ग्रेडमा भएका सन्दीपलाई सीडब्लुसी क्रिकेट लिग–२ खेल्न जाने टोलीमा पनि समेटेको थियो । साे टाेलीलाई बुधबार क्यानले औपचारिक विदाइ गरेको केही समयमै उनले क्यानसँगको सम्झौता ताेड्ने निर्णय सार्वजनिक गरे । टीम घाेषणा त्यसअघि नै भएको थियो । कप्तानी राेहितकुमार पाैडेल र उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह ऐरीले पाए ।

राेहित कप्तान हुन्छन् भन्नेमा त सन्दीप ढुक्क थिए, तर दीपन्द्र उपकप्तान बनेको विषयलाई उनले सहज रूपमा लिएनन् ।‍‍‍‍  दीपेन्द्र उपकप्तान बनेपछि आफू फेरि कप्तान बन्ने सपना देखेका सन्दीपलाई झट्का लाग्यो । त्यसपछि उनले क्यानसँगको सम्झौता नै तोड्ने निर्णय लिए ।

क्यानका एक उच्च पदाधिकारीले दीपेन्द्रलाई उपकप्तान बनाएपछि उनले घुर्की लगाएको बताउँछन् । उनले भने, ‘अरु कुरा केही हाेइन, उसले (सन्दीप) घुर्की लगाएको हो । उसले फेरि कप्तान बन्दिनँ कि भन्ने सोचेर यो निर्णय गरेको देखिन्छ ।’ दीपेन्द्र उपकप्तान बनेपछि सन्दीपले घुर्की लगाएको उनले बताए ।

क्यानले दीपेन्द्रलाई उपकप्तान बनाउँदा रोहितपछि कप्तानमा सन्दीपभन्दा दीपेन्द्रको दाबेदारी बलियो भएको देखिन्छ । यसकारण पनि दीपेन्द्रको  नियुक्तिमा सन्दीपको असन्तुष्टि पोखिएको क्याननिकट स्राेतहरू बताउँछन् ।

अब क्यानले छलफलपछि मात्र सन्दीपको विषयमा निर्णय लिने बताएको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपको घोषणाबारे अहिले कुनै निर्णय नभएको बताए । उनले बोर्ड बैठकमा यो विषयमा छलफल भने हुने बताए । तर मैदानमा सन्दीपको प्रदर्शनमा यो घोषणाले कुनै प्रभाव नपर्ने विश्वास व्यक्त गरे ।

यद्यपि, सार्वजनिक रुपमा सन्दीपले कप्तान बन्ने आशय व्यक्त भने गरिसकेका छैनन् । अदालतबाट सफाइ पाएपश्चात पत्रकारले राष्ट्रिय टोलीको कप्तानको रुपमा फर्किनेबारे गरेको प्रश्नमा सन्दीप मौन रहेका थिए । जबकी उनका वकिल अधिवक्ता सरोज कृष्ण घिमिरेले ‘सन्दीप अब फेरि कप्तान बन्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएका थिए । यसले सन्दीपले नबोले पनि उनको कप्तान बन्न चाहेको आशय बुझ्न सकिन्छ ।

बलात्कार प्रकरणमा मुछिएपछि क्यानले सन्दीपलाई कप्तानबाट हटाएको थियो । उनीपछि कप्तानमा रोहितकुमार पौडेल नियुक्त भए  । उपकप्तानको पद खाली नै थियो । मुख्य प्रशिक्षक स्टुवार्ट लको आगमनसँगै दीपेन्द्रले दाेस्रोपटक उपकप्तानको जिम्मेवारी पाएका छन् ।

यसअघि सन् २०२१ मा उपकप्तान रहँदै ग्रेडिङको विषयविरुद्ध आवाज उठाएपछि तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसँगै दीपेन्द्र पनि कारबहीमा परेका थिए । क्यानले ज्ञानेन्द्र र दीपेन्द्रलाई टोलीमा समावेश गरे पनि कप्तान र उपकप्तानको जिम्मेवारी खोसेको थियो । यो कारबाहीपछि सन्दीप कप्तान बनेका थिए ।

मैदान बाहिरको अवस्था राम्रो नभएको संकेत

पछिल्लो समय सन्दीपले पटक-पटक सामाजिक संजालमार्फत क्यानप्रति आफ्नो गुनासो पोख्दै आएका पनि छन् । जय ट्रफी प्रतियोगिताका क्रममा सन्दीपले नेपालको अम्पायरिङको स्तरमा ठूलो सुधार आवश्यक रहेको भन्दै स्टाटस लेखेका थिए ।

जसका लागि उनी कारबाहीमा पनि परे । सन्दीपलाई क्यानको कारबाही गरेका थियो । उनी क्यानले आयोजना गर्ने प्रतियोगिताको एक घरेलु खेलमा प्रतिबन्धित पनि भएका थिए । यसबाट पनि उनी क्यानसँग सन्तुष्ट थिएनन् ।

यसअघि, सन्दीपले मे ११ मा पनि आफ्नो इन्स्टाग्राम स्टोरीमा पनि आफू विश्वासघातको सिकार भएको भावना व्यक्त गर्दै लेखेका थिए, ‘अगाडि धेरै मुस्कुराउने तर पछाडि बञ्चरोको धारिलो गर्नेहरूसँग विशेष सावधान रहनुहोस् । सबैले ताली पिट्दैमा उनीहरू तपाईंलाई जितेको हेर्न चाहन्छन् भन्ने हुँदैन । केही त केवल प्रहार गर्नुअघि नजिकबाट हेर्न चाहन्छन् । निष्ठा दुर्लभ छ, नक्कली माया सामान्य छ । सतर्क रहनुहोस् ।’

यसले पनि सन्दीपको मैदान बाहिरको अवस्था राम्रो नभएको संकेत गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved