काठमाडौं । बार्सिलोनाले शानदार प्रदर्शन गर्दै स्पेनिस ला लिगाको उपाधि आफ्नो पोल्टामा पारेको छ। बिहीबार राति भएको खेलमा बार्सिलोनाले इस्पानियोललाई २-० ले पराजित गर्दै लिगको २८औं उपाधि जितेको हो।
बार्सिलोनाको जितमा १७ वर्षीय युवा खेलाडी लामिन यमाल नायक बने। खेलको ५३औँ मिनेटमा यमालले गरेको उत्कृष्ट गोलले बार्सिलोनालाई अग्रता दिलाएको थियो। त्यसपछि खेलको इन्जुरी समयमा फरमिन लोपेजले यमालकै पासमा अर्को गोल थप्दै बार्सिलोनाको जित सुनिश्चित गरे।
यो जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा रहेको रियल म्याड्रिडलाई ७ अङ्कले पछि पारेको छ। लिगमा अब दुई खेल मात्र बाँकी रहेको अवस्थामा बार्सिलोना च्याम्पियन बनेको हो।
यस सिजन प्रशिक्षक हान्सी फ्लिकको नेतृत्वमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गरेको छ। ला लिगाको उपाधि जित्नुअघि बार्सिलोनाले कोपा डेल रे कप र स्पेनिस सुपर कपको उपाधि पनि जितेको थियो।
Facebook Comment
Comment