ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

नेपालभ्युज

ट्रम्पद्वारा प्रस्तावित नेटो खर्चको लक्ष्य पूरा गर्न जर्मनी तयार

बर्लिन । जर्मनीको नयाँ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले माग गरेको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को पाँच प्रतिशतको लक्ष्य पूरा गर्न रक्षा खर्च बढाउने योजना अघि सारेर नेटो का सहयोगी राष्ट्रहरूलाई आश्चर्यचकित पारेको छ ।

जर्मनीका चान्सलर फ्रेडरिक मर्जले आफ्नो गठबन्धन सरकारले ‘युरोपमा सबैभन्दा बलियो परम्परागत सेना’ राख्न चाहेको बताएको एक दिनपछि विदेशमन्त्री जोहान वाडेफुलले उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

नेटोका प्रमुख मार्क रुटले कुल गार्हस्थ्य उत्पादनको ३.५ प्रतिशत सैन्य खर्च र १.५ प्रतिशत पूर्वाधार तथा साइबर प्रतिरक्षाजस्ता अन्य सुरक्षा उपायमा खर्च गरेर पाँच प्रतिशतको लक्ष्य पूरा गर्ने योजना अघि सारेका छन् ।

टर्कीमा नेटोको बैठकमा बोल्दै वाडेफुलले राष्ट्रपति ट्रम्पले माग गरेको पाँच प्रतिशतसम्म पुग्ने रुटको प्रस्तावलाई समर्थन गर्दै जर्मनीको प्रतिवद्धताको घोषणा गर्दै भने, ‘हामी उहाँलाई यस विषयमा पछ्याउँछौँ ।’

सहमतिपछि बर्लिनबाट वित्तमन्त्री लार्स क्लिङबेलले भने, “हामी सुरक्षामा बढी खर्च गर्नेछौं, तर त्यो हामी अर्को महिना हेगमा हुने नेटो शिखर सम्मेलनमा भएको सम्झौतामा उल्लेख हुनेछ ।

जर्मनीका पूर्व वरिष्ठ सैन्य अधिकारी तथा मर्जको सीडीयू पार्टीका राजनीतिज्ञ रोडरिच किसेवेटरले बिल्ड दैनिकलाई दिएको अन्तर्वार्तामा उक्त कदमलाई ‘आमुल परिवर्तन’ भनेका छन् ।

उनले भने, “यो तत्काल हुने छैन तर हुनैपर्छ ।”

मुख्य हतियार प्रणालीको अभावले ग्रस्त र नयाँ सेना भर्ती गर्न समस्याको सामना गरिरहेको जर्मन सशस्त्र सेनाको भयावह अवस्थालाई ध्यानमा राख्दै यो लक्ष्य महत्वाकाङ्क्षी देखिन्छ।

दोस्रो विश्वयुद्धको अँध्यारो इतिहास बोकेको जर्मनीले लामो समयदेखि रक्षाक्षेत्रमा ठूलो रकम खर्च गर्न आनाकानी गर्दै आएको छ । शीतयुद्धपछि युरोपेली देशहरू सुरक्षाका लागि नाटोको हेभीवेट संयुक्त राज्य अमेरिकामाथि निर्भर हुँदा आर्थिक सहायतामा तीव्र गिरावट आएको थियो।

दशकौं देखिको कम सैन्य खर्चका कारण जर्मनीको युद्धक ट्याङ्क र होवित्जर (तोप)को सङ्ख्या हजारौंबाट घटेर सयौंमा झरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved