काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको राजधानी दोहामा आयोजित एक व्यापारिक कार्यक्रममा भारतले अमेरिकी आयातमा सबै कर (ट्यारिफ) हटाउने प्रस्ताव गरेको दाबी गरेका छन् । उनले भने, ‘भारत सरकारले हामीलाई एउटा सम्झौता प्रस्ताव गरेको छ, जसमा उनीहरू हामीमाथि कुनै पनि ट्यारिफ नलगाउने कुरामा सहमत छन् ।’ भारत र अमेरिकाबीच हाल व्यापार सम्झौताबारे गहन छलफल चलिरहेको छ ।
भारतको वाणिज्य मन्त्रालयले यो दाबीमा अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन । यता, भारतीय विदेशमन्त्री एस जयशंकरले मिडियासँग कुरा गर्दै भनेका छन्, ‘भारत र अमेरिकाबीच व्यापार वार्ता जटिल छ । सबै कुरा टुंगो नलागेसम्म कुनै निष्कर्षमा पुग्न सकिँदैन । व्यापार सम्झौता दुवै देशका लागि लाभकारी हुनुपर्छ ।’
ट्रम्पले सोही कार्यक्रममा बोइङ जेटसहित अमेरिका र कतारबीचका ठूला व्यापारिक सम्झौताहरूको घोषणा गरे । उनले एपलका सीईओ टिम कुकसँगको कुराकानी उल्लेख गर्दै भारतमा आइफोन उत्पादनप्रति असन्तुष्टि व्यक्त गरे । उनले भने, ‘भारत विश्वमै उच्च ट्यारिफ लगाउने देशहरूमा पर्छ । मैले टिमलाई भारतमा उत्पादन नगर्न सुझाएँ ।’ यद्यपि, एपलले हालै आफ्नो अधिकांश आइफोन उत्पादन चीनबाट भारतमा स्थानान्तरण गर्ने घोषणा गरेको छ ।
अमेरिका र भारतबीचको द्विपक्षीय व्यापार हाल १९० अर्ब डलर पुगेको छ । ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो व्यापारलाई ५०० अर्ब डलर पुर्याउने लक्ष्य राखेका छन् । व्यापार विज्ञ अजय श्रीवास्तवका अनुसार, भारतले ‘शून्य ट्यारिफ’ नीति अपनाउँदै ९० प्रतिशत अमेरिकी निर्यातमा ट्यारिफ हटाउन सक्छ, तर कृषि जस्ता संवेदनशील क्षेत्रमा छुट सम्भव छैन ।
यसै महिना, अमेरिका र चीनले एकअर्काको आयातमा ट्यारिफ घटाउने सहमति गरेका छन् । अमेरिकाले चिनियाँ सामानमा १४५ प्रतिशतबाट ३० प्रतिशत र चीनले अमेरिकी सामानमा १२५ प्रतिशतबाट १० प्रतिशत ट्यारिफ घटाउने निर्णय गरेको छ ।
भारतले हालै बेलायत र युरोपियन फ्री ट्रेड एसोसिएसन (ईएफटीए) सँग व्यापार सम्झौता गरेको छ । युरोपियन युनियनसँग पनि यो वर्ष मुक्त व्यापार सम्झौताको प्रयास भइरहेको छ । भारत र अमेरिकाबीचको सम्झौताको समयसीमा आगामी जुलाई ९ मा सकिँदै छ । बीबीसीको सहयोगमा
Facebook Comment
Comment