काठमाडौं । सन् २०२३, अक्टोबर ७ मा जब गाजा युद्ध सुरु भयो – हमासका ३ मुख्य नेता इस्माइल हानिया, याह्या सिनवर र मोहम्मद देइफ विश्वभरि चर्चामा थिए ।
हानिया राजनीतिक नेता थिए । उनी कतारमा बसेर गाजा युद्धका लागि हमासको पक्षमा अन्तर्राष्ट्रिय सहयोग र समर्थन जुटाउँथे । उनी सन् २००६–२०१४ बीच प्यालेस्टाइनी प्राधिकारको प्रधानमन्त्रीसमेत भएका थिए । सन् २०१७ देखि उनी हमासको राजनीतिक समितिको अध्यक्ष थिए ।
सन् २०२४, जुलाई ३१ मा इरानको ‘राजकीय अतिथि’ भएकै अवस्थामा तेहरानमा उनको हत्या भयो । उनी इरानका नवनिर्वाचित राष्ट्रपति मसुद पेजेस्किनको शपथ ग्रहण समारोहमा भाग लिन तेहरान पुगेका थिए । व्यक्तिगत रुपमा लक्षित इजरायली गोप्य हवाई कारबाहीमा हानिया मारिए ।
उनको लास कतार फिर्ता गरियो । हानियाको हत्यालाई इजरायलले निक्कै ठूलो युद्ध उपलब्धिका रुपमा लियो । त्यसपछि हमासको नेतृत्व याह्या सिनवरको काँधमा गयो । हानिया नेतृत्व कालमा पनि सिनवर नै हमासको वास्तविक सैन्य नेता थिए । हनियाको हत्यापछि सिनवरले हमासको सैन्य र राजनीतिक दुवै नेतृत्व गरे । सिनवर गाजाका सुरुङमा बसेर आफैँ युद्धको प्रत्यक्ष नेतृत्व गर्थे ।
२०२४ अक्टोबर १७ मा इजरायली प्रतिरक्षा बलले दाबी गर्यो – तीन दिनअघि मारिएका लासमध्ये एक सिनवरको हुन सक्दछ । यसका लागि लासको डीएनए परीक्षण नै गरियो । नभन्दै यो पुष्टि भयो । याह्या सिनवर एक सामान्य सिपाही सरह युद्धको हुलमुलमा मारिएका थिए ।
मोहम्मद देइफ भने हमासको मुख्य सैन्य टुकडी अल–कासिम ब्रिगेडका कमाण्डर थिए । उनको मृत्युको आधिकारिकता अहिलेसम्म पुष्टि छैन । तर, सन् २०२४ को जुलाई १३ मै उनको मृत्यु भइसकेको विश्वास गरिन्छ । यस्तो आशंकापछि उनी कतै देखिएका छैनन् ।
यसरी मूल नेताकै एकपछि अर्को हत्याबाट हमासको संगठनलाई पुगेको क्षति सहजै अनुमान गर्न सकिन्छ । तर, पनि हमासले आफ्ना गतिविधि रोकेको छैन । इजरायललाई हमास ध्वस्त भएको कुरामा विश्वास छैन । तसर्थ, आक्रमण जारी राखेको छ ।
हानिया, सिनवर र देइफ– मुख्य ३ नेताको हत्यापछि हमासको नेतृत्व कस्ले गरिरहेको होला ? समाचार स्रोतहरुको भनाइ छ कि हमासको नेतृत्व अहिले याह्या सिनवरकै कान्छा भाइ मोहम्मद इब्राहिम हसन सिनवरको हातमा छ ।
मंगलबार इजरायली सेनाले गाजा शहरको खान युनिस क्षेत्र लक्षित भीषण हवाई आक्रमण गरेको थियो । यस आक्रमणको उद्देश्य हमासका वर्तमान नेता मोहम्मद सिनवरको हत्या गर्नु थियो । तर, उनी बचेका छन् । मंगलबारको इजरायली आक्रमणमा मोहम्मद मारिएको कुनै प्रमाण अहिलेसम्म प्राप्त भएको छैन ।
गाजा युद्धमा इजरायलको लक्ष्य हमासका उच्च नेतालाई एकपछि अर्को गर्दै मार्नु देखिन्छ । इस्माइल हानिया र याह्या सिनवरको हत्यापछि मोहम्मद सिनावरलक्षित हवाई आक्रमणले त्यही पुष्टि गर्दछ । नेतृत्वपंक्तिलाई समाप्त गर्ने हो भने हमास ध्वस्त हुने इजरायलको विश्वास अहिलेसम्म पुष्टि भएको भने छैन । त्यहाँ एकपछि अर्को नयाँ नेता जन्मिरहेको छन् ।
मोहम्मद सिनवर हत्या भइसकेका हमास प्रमुख याह्या सिनवरका आफ्नै कान्छा भाइ हुन् । उनी सन् १९७५ मा जन्मिएका थिए । उनी आफ्ना दाजुका राम्रा अनुयायी मानिन्छन् ।
उनी सन् १९९० मा हमास राजनीतिमा प्रवेश गरेका थिए । उनी सन् १९९१ मा करिब १ वर्ष इजरायली सेनाको हिरासतमा बसेका थिए । बारम्बार उनलाई पश्चिमी किनाराको प्यालेस्टाइनी प्राधिकार सरकारले रमल्लाह जेलमा बन्दी बनाएको थियो ।
सन् २०२१ यता उनको हत्या गर्ने ६ वटा ठूला प्रयास भइसकेको बताइन्छ । तर, अहिलेसम्म सफल भएको छैन । दाजुको नेतृत्वकालमा पनि उनी व्यवहारिक कार्यमा लागि सधैँ सक्रिय हुन्थे । हमास राजनीतिका जानकारहरूका अनुसार उनी दाजुका ‘दाइने हात’ जस्तै मानिन्थे ।
सन् २०१४ मा उनी मारिएको हल्ला चलेको थियो । तर, केही समयपछि जीवितै पाइएका थिए । अक्सर उनी कठोर भूमिगत जीवन बिताउने गर्दछन् । त्यसैले इजरायली सेनाले गर्ने हत्या प्रयासलाई बारम्बार छल्न सफल हुँदै आएका छन् । मोहम्मदलाई हमासको सैन्य रणनीति र नेतृत्वमा बढी रुचि छ ।
सार्वजनिक जीवनमा उनी कमै देखा पर्दछन् । गाजा क्षेत्रमा समेत उनलाई धेरै कम मानिसले चिन्छन् । हालैका दिनमा भने उनी सार्वजनिक चर्चामा छन् ।
मंगलबारको इजरायली आक्रमणमा कम्तीमा ६ जना मारिएका छन् भने ४० बढी घाइते भएका छन । तर, मोहम्मद भने सकुशल रहेको हमासको दाबी छ ।
उनी अहिले हमासको संगठन र सैन्य शक्तिमा भएको क्षतिलाई भर्ने प्रयासमा छन् । उनी हमासमा युवा प्यालेस्टाइनीहरूलाई सदस्य बनाउने र तालिम दिने काममा लागेका छन् । उनले हमास समर्थक देशलगायत अन्तर्राष्ट्रिय सम्बन्धहरूसमेत आफैँ बनाइरहेका छन् ।
उनले सन् २००६ मा इजरायली सिपाही गिलाद शालिटलाई अपहरण गरी बन्दी बनाएको आरोप छ । ती इजरायली सैनिकलाई ५ वर्षसम्म गाजामा बन्दी बनाइएको थियो । शालिटलाई सन् २०११ मा १ हजार बढी प्यालेस्टाइनी बन्दीसँग आदानप्रदान गरिएको थियो ।
मोहम्मद दाजु याह्या सिनवरको हत्यापछि औपचारिक हमास नेता भएको अझै पुष्टि भने भएको छैन । हत्या सम्भावनालाई दृष्टिगत गरी हमासले आफ्ना नयाँ नेताको नाम सार्वजनिक नगरेको हुन सक्छ ।
तर धेरैको अनुमान यही छ कि हमासको वास्तविक नेतृत्व अहिले याह्या सिनवरकै कान्छा भाइ मोहम्मद सिनवरको हातमा छ ।
द न्यूओर्क टाइम्सको सहयोगमा
Facebook Comment
Comment