काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
टेरामक्स प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । यससँगै उनको प्रतिनिधिसभाको सांसद पद स्वत: निलम्बनमा परेको छ ।
यो प्रकरणमा अनुसन्धान सकिएको करिब २ वर्षपछि अख्तियारले मुद्दा दायर गरेको हो । अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईले २०८० को १५ फागुनमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा यो प्रकरणको अनुसन्धान सकिएको बताएका थिए । तर, बहालवाला मन्त्रीविरुद्ध नै मुद्दा दर्ता गर्नुपर्ने अवस्था आएपछि आयोगले निर्णय गर्न सकेको थिएन ।
बस्नेत सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । भ्रष्टाचार निवारण ऐन- २०५८ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन- २०४८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।
मन्त्री हुँदै दिएका थिए बयान
बस्नेतले यस प्रकरणमा मन्त्री पदमा रहँदै बयान दिएका थिए । २५ माघ २०८० मा अख्तियार कार्यालय टंगाल पुगेर बयान दिएका थिए । त्यतिबेला उनी स्वास्थ्यमन्त्री थिए ।
भ्रष्टाचारको आरोपमा बहालवाला मन्त्रीले बयान दिएको अख्तियारको साढे चार दशकको इतिहासमा यो दुर्लभ घटना मानिएको थियो ।
बस्नेत २०७४ सालमा सञ्चारमन्त्री हुँदा ‘टेरामक्स प्रणाली’ खरिद सम्बन्धी विवादमा मुछिएका थिए । सुरुमा तत्कालीन सञ्चारमन्त्री शेरधन राईले टेरामक्स प्रविधिको विषय अध्ययनका लागि सहमति दिएका थिए ।
राईपछि साउन २०७४ मा सञ्चारमन्त्री नियुक्त भएका बस्नेतले टेरामक्सको योजना अगाडि बढाएका थिए ।
बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा, तीन अर्ब २१ करोड बढी बिगो
बस्नेतसँगै दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झालाई पनि आरोपपत्रमा प्रतिवादी बनाइएको छ ।
दुरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तम खनाल, प्राधिकरणकै तत्कालीन सदस्यहरू धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेती, प्राधिकरणका निर्देशक विजयकुमार राय, सुरेन्द्रलाल हाडा र दिपेश आचार्य, उपनिर्देशकहरू रेवतीराम पन्थ, सुरेश बस्नेत, हरिण्यप्रसाद बस्ताकोटी, अच्युतानन्द मिश्र र सन्जीव अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
आरोपीबाट तीन अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो माग दाबी गरिएको छ ।
टेरामक्स प्रकरण : सांसद बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
Facebook Comment
Comment