काठमाडौं । स्वतन्त्र सांसद् अमरेशकुमार सिंहले गभर्नरमा पार्टीको कार्यकर्ता नियुक्त गर्न खोजेको भन्दै संसदमा विरोध जनाएका छन् ।
प्रतिनिधिसभामा बोल्दै सिंहले पार्टीबाट टिकट लिएर चुनाव लडेका व्यक्तिलाई गभर्नर नियुक्ति गर्न खोजेको भन्दै उनले विरोध जनाएका हुन् ।
काङ्ग्रेसको भागमा परेको गभर्नरमा विश्व पौडेललाई नियुक्त गर्न खोजिएपछि उनले आपत्ति जनाएका हुन् । चितवन १ बाट उनी प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका थिए ।
‘पार्टीका मान्छे नियुक्ति गरेर हालीमुहाली गर्ने प्रवृत्ति गलत छ । कोही मर्यो भन्दा पनि काल पल्कियो भन्ने कुरामा डराउनुपर्छ । दलीय भागबन्डामा नियुक्तिमा लगाम लगाउनुपर्छ,’ उनले भने ।
उनले १० दिनमा सिफारिस समिति सदस्य परिवर्तन भइरहेको प्रति पनि आपत्ति जनाए । ‘प्रत्येक १० दिनमा नियुक्ति गर्ने कस्तो परिपाटी हो?’ उनको प्रश्न छ ।
राष्ट्र बैंकको सिफारिस समितिबाट पूर्वगभर्नर विजनाथ भट्टराईले राजीनामा दिएका थिए । त्यसपछि महाप्रसाद अधिकारीलाई सरकारले नियुक्त गर्यो । विश्व पौडेलले सिफारिस समितिबाट राजीनामा दिएसँगै पोषराज पाण्डेलाई नियुक्त गरिएको छ ।
सरकारले महिला भएकै आधारमा डेपुटी गभर्नरलाई गभर्नर नबनाएको भन्दै उनले प्रश्न गरेका छन् । ‘के महिला भएकै कारणले डेपुटी गभर्नरलाई गभर्नर नबनाइएको हो?’ उनको प्रश्न छ ।
Facebook Comment
Comment