लुम्बिनीका एमाले सांसद पन्थीले बुझाए बिगो रकम, पक्राउ नगर्न अदालतको पत्र

लुम्बिनीका एमाले सांसद पन्थीले बुझाए बिगो रकम, पक्राउ नगर्न अदालतको पत्र

लुम्बिनी । मोरङ जिल्ला अदालतले नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सांसद विष्णु पन्थीलाई पक्राउ नगर्न जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पत्राचार गरेको छ ।

उनले धरौटी दाखिला गरेको बुधबार पत्रमार्फत जानकारी दिँदै अदालतले प्रहरीलाई पुर्जीबमोजिम कार्य नगर्न अनुरोध गरेको हो ।

सांसद पन्थीले बुधबार नै जिल्ला अदालत मोरङमा धरौटी दाखिला गरेका थिए ।

पन्थीका साथै व्यापारिक लेनदेन बिगो मुद्दामा पक्राउ पुर्जी जारी भएका गौतमबुद्ध हाइड्रो पावर प्रालि, काठमाडौंका सञ्चालक देवराज खनाललाई पनि पक्राउ नगर्न अदालतले पत्र पठाएको हो ।

‘वादी श्याम राठी प्रतिवादी गौतमबद्ध हाइड्रोपावर प्रालिसमेत भएको व्यापारिक लेनदेन बिगो मुद्दामा यस अदालतबाट २०८१ वैशाख ३१ मा भएको आदेशअनुसार प्रस्तुत मुद्दामा वादीले पाउने गरी फैसलाले ठहर भएको बिगो रकम प्रतिवादीले यस अदालतमा बुधबार धरौटीमा दाखिला गरिसकेको हुँदा पत्र बमोजिम तपसिल बमोजिमका प्रतिवादीहरूलाई पक्राउ नगर्न नगराउन अनुरोध छ,’ अदालतले पन्थी र खनालको नाम उल्लेख गरेर पठाएको पत्रमा भनिएको छ ।

एमाले सांसद पन्थी गौतमबुद्ध हाइड्रोपावर प्रालि, काठमाडौंका सञ्चालकमध्ये एक हुन् । अदालतले २०८१ असार १२ गते जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी उपस्थित गराउन पत्राचार गरेको थियो । तर उनलाई प्रहरीले पक्राउ गरेको थिएन । अदालतले पक्राउ पुर्जी जारी गरेको समाचार सार्वजनिक भएपछि उनले बिगो तिरेका थिए ।

गौतमबुद्ध हाइड्रोपावरलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिले २०७३ सालमा १८ लाख ५४ हजार रुपैयाँको विद्युतीय सामान उधारोमा दिएको थियो । उक्त रकम मध्ये पल्लवी इलेक्ट्रा प्रालिलाई जम्मा ५ लाख रुपैयाँ दिएको थियो ।

बाँकी रकम नदिएपछि जिल्ला अदालत मोरङमा पल्लवी कम्पनीले २०७५ चैत ११ गते मुद्दा दर्ता गरेको थियो । २०७७ मंसिर २३ गते जिल्ला अदालत मोरङका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले बाँकी रकम १३ लाख ५४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।

फैसला कार्यान्वयन नगरेपछि पल्लवी कम्पनीले अदालतमा पुनः निवेदन दिएको थियो । निवेदनपछि २०८१ साल वैशाख १२ गते प्रकाशित सूचनामा १३ लाख ५४ हजार रुपैयाँ भुक्तानी गर्नका लागि १५ दिनभित्र अदालतमा आफैँ आउने सूचना थियो ।

उक्त रकम बुझाउन गौतमबुद्ध हाइड्रोपावर कम्पनीका सञ्चालकद्वय देवराज खनाल र पन्थी नआएपछि अदालतले जनही ६ महिना कैद गर्न आदेश भएको थियो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved