काठमाडौं । चीनको राष्ट्रिय जनकाङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी चार दिने नेपाल भ्रमणका लागि बुधबार राति राजधानी काठमाडौं आइपुगेका छन् ।
उपसभामुख इन्दिरा राना मगरको निमन्त्रणामा १५ सदस्यीय संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका उपाध्यक्ष सिआओ सरकारले आयोजना गरेको सगरमाथा संवादमा सहभागी हुने कार्यक्रम छ ।
राति ११.५ बजे काठमाडाैं आइपुगेका उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, नेपाल–चीन संसदीय मैत्री समूहका संयोजक नारायणकाजी श्रेष्ठ, नेपालका लागि चीनका राजदूत छङ सोङ, सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेय लगायतले स्वागत गरेका थिए ।

उपाध्यक्ष सियाओले प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग भेट गर्नेछन् भने उपसभामुख इन्दिरा राना मगरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
उनको सम्मानमा उपसभामुख रानाले आज (बिहीबार) साँझ रात्रिभोजको आयोजना गर्नेछिन् । उपाध्यक्ष सियाओ नेतृत्वको संसदीय प्रतिनिधि मण्डलले सगरमाथा संवादमा सहभागी हुनुका साथै काठमाडौंका बौद्धनाथ, स्वयम्भूनाथ, वसन्तपुर तथा भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् ।
सिआसो नेतृत्वको प्रतिनिधिमण्डल भ्रमण सम्पन्न गरी जेठ ३ गते दिउँसो चीन फर्कने कार्यक्रम रहेको छ ।
सरकारले यही जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा सगरमाथा संवाद कार्यक्रम आयोजना गर्दैछ ।
तस्वीरहरू :





Facebook Comment
Comment