विमानस्थलमा भैँसी आतङ्कबारे प्राधिकरण- समाचारमा उल्लेखित तथ्य गलत र अतिरञ्जित

नेपालभ्युज

विमानस्थलमा भैँसी आतङ्कबारे प्राधिकरण- समाचारमा उल्लेखित तथ्य गलत र अतिरञ्जित

भैरहवा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अधिकांश जग्गा प्रयोगविहीन रहेको र त्यहाँ भैँसी आतङ्क मच्चिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्राधिकरणले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त समाचारमा उल्लेखित तथ्यहरु गलत र अतिरञ्जित भएको दाबी गरेको छ।

विज्ञप्तिमा प्राधिकरणले आन्तरिक विमानस्थललाई समयक्रम अनुसार स्तरोन्नति गर्ने नेपाल सरकारको योजनाबमोजिम विमानस्थलका लागि आवश्यक उड्डयन संरचना निर्माण गर्न विभिन्न मितिमा मन्त्रिपरिषद्को निर्णय अनुसार जग्गा अधिग्रहण गरिएको स्पष्ट पारेको छ।

प्राधिकरणले विमानस्थलको मुख्य क्षेत्रभन्दा बाहिर रहेको करिब ४० विगाहा जमिनलाई पूर्ण रूपमा विस्थापित घरपरिवारको पुनर्वास योजना, वातावरणीय प्रभाव मूल्याङ्कन अनुसार फोहरमैला व्यवस्थापन र हवाई सुरक्षाका दृष्टिकोणले संवेदनशील वन्यजन्तु तथा पशुपन्छीको गतिविधि नियन्त्रणका लागि छुट्याइएको जनाएको छ।

सोही खुला जग्गामा भैँसी आतंक र अधिकांश जमिन प्रयोगविहीन रहेको भनी सामाजिक सञ्जालमा आएका गतिविधि र त्यसलाई आधार बनाएर सञ्चारमाध्यममा अतिरञ्जित समाचार प्रकाशन गरिएकोमा प्राधिकरणले आपत्ति जनाएको हो।

विमानस्थल जस्तो संवेदनशील क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा बदनाम गर्ने बदनियतले यस्ता गतिविधि भएको प्राधिकरणको ठहर छ। प्राधिकरणले विमानस्थलको व्यावसायिक सञ्चालनका लागि सबै सरोकारवालालाई सकारात्मक सहयोग, सहकार्य र समन्वय गर्न विशेष आग्रह गरेको छ।

‘नेपालको हवाई यातायात क्षेत्रको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल माथि रहँदै आएको बाध्यात्मक निर्भरता हटाउने उद्देश्यले नेपाल सरकारले वि.सं. २०७१ सालमा शिलान्यास गरि वि.सं. २०७९ जेष्ठ २ गते निर्माणको कार्य सम्पन्न पश्चात व्यवसायिक अन्तर्राष्ट्रिय उडानको समुद्धघाटन भई हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा रहेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व सो स्थानमा भैरहवा विमानस्थलको नाममा वि.सं.२०१५ सालबाट नै आन्तरिक उडानहरु सञ्चालन हुँदै आएका थिए ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved