काठमाडौं । निर्वाचन आयोग, नेपालले मतदाता नामावली अद्यावधिक कार्यविधि, २०८१ बमोजिम २०८१ चैत मसान्तसम्म १८ वर्ष उमेर पूरा गरेका नागरिकहरूको विवरण अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगको बुधबारको निर्णयअनुसार कुल १८ करोड १४ लाख ८ हजार ६५४ मतदाताको नामावली कायम भएको छ।
जसमा महिला मतदाता ८९ लाख १० हजार ८९६, पुरुष मतदाता ९२ लाख ३७ हजार ५७२ र अन्य मतदाता १ सय ८६ रहेका छन् । यसअघि २०८१ कार्तिक २६ मा प्रकाशित मतदाता नामावली अनुसार कुल १८ करोड १२ लाख ८ हजार ८३२ मतदाता थिए, जसमा महिला ८९ लाख ३ हजार १९७, पुरुष ९२ लाख २५ हजार ४४८ र अन्य १८७ थिए । नयाँ नामावलीमा अन्य मतदाता १ जना घटे पनि महिला मतदाता ७ हजार ६९९ र पुरुष मतदाता १२ हजार १२४ थपिएर कुल १९ हजार ८२२ मतदाता बढेका छन् ।
आयोगले मतदाता नामावलीमा त्रुटि सच्याउन, उजुरी दिन, दोहोरो नाम हटाउन र मृत्यु भएका वा नागरिकता त्यागेका व्यक्तिको नाम हटाउन सूचना प्रकाशन गरेको थियो । सो प्रक्रिया पूरा भएपछि अन्तिम नामावली तयार गरिएको हो।
मतदाताले आफ्नो विवरण आयोगको वेबसाइटमा हेर्न सक्नेछन् । साथै, नागरिकता प्राप्त गरेका तर नामावलीमा नाम नभएका व्यक्तिले नयाँ नाम दर्ता गर्न र विवरण अद्यावधिक गर्न अनलाइन वा सम्बन्धित निर्वाचन कार्यालयमार्फत निरन्तर प्रक्रिया अघि बढाउन सकिने आयोगले जनाएको छ ।
Facebook Comment
Comment