ऋण खोजेर रिक्सा – रिक्सा चलाएर परिवार

नेपालभ्युज

ऋण खोजेर रिक्सा – रिक्सा चलाएर परिवार

कञ्चनपुर । कञ्चनपुरको  शुक्लाफाँटा नगरपालिका–१० बञ्जरीयाकी ३२ वर्षीया धनमती महरा ई–रिक्सा चलाएर मासिक रु ३५ हजार बढी आम्दानी गर्छिन् । घरको आर्थिक अवस्था कमजोर हुँदा गाउँकै समूहबाट दुई लाख रुपैयाँ ऋण लिएर ई–रिक्सा खरिद गरी चलाउन  थालेकी महरा अहिले यहिबाट परिवारको खर्च समेत धान्दै आएकी छन् ।

समूहबाट लिएको ऋण पाँच महिनामै चुक्ता गरिसकेकी महराले रिक्सा चलाएर हुने आम्दानीबाट एक छोरा, एक छोरीको विद्यालयको मासिक शुल्क, घर खर्चलगायत धान्दै आएकी छन् । कक्षा १२ सम्म पढेकी महराले घरको आर्थिक अवस्था कमजोर हुँदा निजी विद्यालयमा शिक्षिकाको काम पनि गरेकी थिइन् । “त्यसबाट घर खर्च चलाउन धौ-धौ हुन थालेपछि केही महिना लघुवित्तमा र केही महिना बीमा अभिकर्ता बनेर काम गरेँ”, उनले भनिन्, “दुवै क्षेत्रबाट पाइने तलबले घर खर्च चलेन, चित्त बुझेन ।”

केही समयअघि सम्म झलारीलगायतका बजार क्षेत्रमा पुरुषले मात्रै अटो र ई–रिक्सा चलाउँथे । जागिरको तलबले नपुगेपछि उनले पनि ई–रिक्सा चलाउने निधो गरिन् । ‘समूहमा पैसा बचत गर्थेँ, त्यहाँबाट ऋण लिएर रिक्सा चलाउन सिकेँ,” उनले भनिन्, “ई–रिक्सा खरिद गरेर चलाउन थालेपछि महिलाले पनि रिक्सा चलाउने भनेर कुरा काट्थे, चढ्न हिचकिचाउँथे, केहीले भने हौसला दिन्थे ।”

दुई तीन महिनासम्म उनको रिक्सा चढ्न यात्रु नपाउँदा निकै तनाव महसुस गरेकी थिइन् । यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन थालेपछि यात्रुको सङ्ख्या बिस्तारै बढ्न थालेको उनले अनुभव छ ।

यात्रु कम भएका बेला दिनमा एक हजार रुपैयाँ र कहिलेकाहीँ दैनिक दुई हजारदेखि पच्चिस सयसम्म कमाइ हुने उनले सुनाइन् । अहिले उनका श्रीमान पनि ऋण निकालेर अटो रिक्सा खरिद गरी चलाउन थालेका छन् । दुवै जनाले कमाई गर्न थालेपछि परिवारको खर्च धान्न सहज भएको धनमती सुनाउँछिन् ।

धनमतिजस्तै शुक्लाफाँटा नगरपालिका–११ दीपनगरकी २८ वर्षीय अनिता कुँवरले पनि दुई वर्षदेखि ई–रिक्सा चलाइरहेकी छन् । कक्षा १२ सम्म अध्ययन गरेकी कुँवरको आर्थिक अवस्था पनि कमजोर थियो । साँझ बिहानको छाक टार्न धौ धौ हुने गरेको थियो । श्रीमानले सामान ढुवानीका साधन चलाउने खर्चले पनि उनलाई घर खर्च चलाउन गाह्रो परिरहेको थियो । त्यसपछि उनले आँट गरिन् अब ई – रिक्सा चलाउने ।

“घर परिवारकै सहमतिमा सहकारीबाट ऋण निकाल्ने निधो गरेँ”, उनी भन्छिन, “दुई लाख ऋण लिएर ई–रिक्सा खरिद गरेँ, केही दिन सिक्नमै लाग्यो, सिकेपछि चलाउन थालेँ ।”

रिक्सा चलाउन थालेपछि सामान्य खर्चको अभाव नभएको उनी बताउँछिन् ।“ई–रिक्सा चलाउन थालेपछि पैसाका लागि श्रीमान्को भर पर्नु परेको छैन । कमाई गरेर आएको रकम श्रीमान्लाई उल्टै खर्च दिने गरेको छु,” उनी सनाउँछिन् । सहकारीमा दैनिक रकम बचत गर्न थालेकाले त्यस रकमबाट घर निर्माण गर्ने योजना समेत उनले बताइसकेकी छन् ।

उनले मासिक ३० हजारदेखि ३५ हजार रुपैयाँसम्म कमाई गरिरहेकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved