काठमाडौं । पाकिस्तान र भारतबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका अधिकारीले युद्धविरामको सहमति भएको जानकारी दिए ।
पाकिस्तानका उपप्रधानमन्त्री इशाक दारले पूर्ण र तत्काल युद्धविराममा सहमत भएको बताए । दारले एक्समा लेखेका छन्, “पाकिस्तान र भारत पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन् । पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ ।”
यता, भारतका विदेश सचिव विक्रम मिश्रीले पनि युद्धविराम भएको बताए । उनले पत्रकार सम्मेलनमार्फत दुई देशबीच युद्धविरामको सहमत भएको जानकारी दिए । मिश्रीले भने, “जमिन, आकाशमा युद्धविराम भयो।”
यता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भारत र पाकिस्तान युद्धविरामका लागि सहमत भएको बताए । उनले सामाजिक सञ्जाल Truth Social मार्फत सो जानकारी दिएका हुन् ।
ट्रम्पले भनेका छन्, “संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको लामो वार्तापछि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराम गर्न सहमत भएका छन् । दुवै देशलाई साझा समझदारी र उच्च बुद्धिमत्ताको प्रयोग गरेकोमा बधाई छ ।”

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि यसबारे जानकारी दिएका छन् ।
उनले भने, “विगत ४८ घण्टामा उपराष्ट्रपति जेडी भान्स र मैले प्रधानमन्त्री नरेन्द्र मोदी र शाहबाज शरीफ, विदेशमन्त्री एस । जयशंकर, सेना प्रमुख असीम मुनीर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र असीम मलिकलगायत वरिष्ठ भारतीय र पाकिस्तानी अधिकारीहरूसँग कुरा गरेका छौं । मलाई यो घोषणा गर्न पाउँदा खुशी लागेको छ कि भारत र पाकिस्तानका सरकारहरू तत्काल युद्धविराम गर्न र तटस्थ स्थानमा व्यापक मुद्दाहरूमा वार्ता सुरु गर्न सहमत भएका छन् । हामी शान्तिको बाटो रोज्नमा प्रधानमन्त्री मोदी र शरीफको बुद्धिमत्ता, विवेक र कूटनीतिको प्रशंसा गर्छौं ।”
Facebook Comment
Comment