हेटौँडा । मकवानपुरमा छोराले प्रहार गरेको भरुवा बन्दुक लागेर बाबु घाइते भएका छन् ।
बुधवार बिहानको समयमा भीमफेदी गाउँपालिका–९, अघोरमा घरेलु विवादले उग्ररुप लिँदा आफ्नै छोराको भरुवा बन्दुक प्रहारबाट बाबु घाइते भएका हुन् ।
५९ वर्षीय कान्छाराम थिङलाई उनका ३५ वर्षीय छोरा इमानसिंह थिङले भरुवा बन्दुकले हानेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
घटनास्थलबाट प्रहरीले इमानसिंहलाई लाइसेन्स नभएको एक नाले भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको उनले बताए ।
बाबुको कुखुरा आँगनमा पसेको विषयमा दुईबीच विवाद उत्पन्न भई घटनाले उग्ररुप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बाबु र छोरा एउटै आँगन रहेको छुट्टाछुट्टै घरमा बस्दै आएका थिए ।
कान्छारामको बायाँ तिघ्रा र दायाँ हातमा छर्रा लागेर सामान्य चोट लागेको बताइएको छ । घाइतेको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
छोरा इमानसिंह भने पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धानका लागि प्रहरी निरीक्षक सन्तबहादुर श्रेष्ठको कमान्डमा टोली खटाइएको मकवानपुर प्रहरीले जनाएको छ ।
Facebook Comment
Comment