काठमाडौं । आईपीएल (IPL) मा गुजरात टाइटन्सको स्कोरबोर्डमा २०९ रन थियो ।
अङ्क तालिकामा नवौं स्थानमा रहेको राजस्थान रोयल्स (RR) का लागि यो रनको पहाडजस्तो देखिन्थ्यो ।
केही दिनअघि राजस्थानले त्यही गुजरातको २१७ रन अगाडि आत्मसमर्पण गरेको थियो र खेल ५८ रनले हारेको थियो ।
तर, २८ अप्रिल २०२५ को रातमा १४ वर्षीय वैभव सूर्यवंशी (Vaibhav Suryavanshi), आफ्नो ब्याटले खेलको पटकथा लेख्न दृढ थिए ।
दुई खेलको अनुभवसहित मैदानमा प्रवेश गरेका वैभवले भारतका स्टार मोहम्मद सिराजको सामना गरिरहेका थिए ।
आफ्नो पहिलो बलमा स्ट्रेट ड्राइभमा छक्का प्रहार गरेपछि वैभवले त्यसपछिका केही बलहरूमा रन निकाल्न सकेनन् । सात बलमा उनको ब्याटबाट केवल नौ रन मात्र निस्कियो ।
त्यसपछि चौथो ओभर आयो, जसमा वैभवले आफ्नो मनसाय स्पष्ट पारे । यो ओभर १००+ टेस्ट र १००+ आईपीएल खेलका इशान्त शर्माले बलिङ गरेका थिए ।
वैभवले पहिलो बलमा स्क्वायर लेगको बाउन्ड्रीमाथि छक्का, दोस्रो बलमा मिडविकेटको बाउन्ड्रीमाथि छक्का, तेस्रो बलमा चौका, पाँचौं बलमा थर्ड म्यान बाउन्ड्रीमाथि छक्का र छैटौं बलमा चौका प्रहार गरे ।
यस ओभरमा कुल २८ रन बन्यो र यो इशान्तको आईपीएल करिअरको सबैभन्दा महङ्गो ओभर पनि साबित भयो ।
टोलीको स्कोर केवल चार ओभरमा ५० रन पार गर्यो ।
पाँचौं ओभरमा वैभवले दुई छक्का र एक चौका प्रहार गर्दै केवल १७ बलमा यस सिजनको सबैभन्दा छिटो अर्धशतक पूरा गरे । टोलीको स्कोर १६.२० को रन रेटमा ८१ रन भयो ।
वैभवको आँधीबेहरी पारीका कारण आवश्यक रनरेट १०.५० बाट ८.६० मा झर्यो ।
त्यसपछि खेलको १०औं ओभर आयो । शुभमन गिलको स्थानमा गुजरातको कप्तानी गरिरहेका रशिद खानले बल करीम जन्नतलाई दिए ।
गुजरातका लागि आईपीएलमा डेब्यू गरिरहेका यी अनुभवी अफगानी फास्ट बलरका लागि यो ओभर दुःस्वप्न साबित भयो ।
वैभवले यस ओभरका सबै छ बलहरू सीमाभन्दा बाहिर पठाए । पहिलो बल – स्क्वायर लेगमा छक्का, दोस्रो बल – डिप पोइन्टमा चार, तेस्रो बल – डिप स्क्वायर लेगमा छक्का, चौथो बल – स्ट्रेट ड्राइभबाट चार, पाँचौं बल – लङ अफमा चार, छैटौं बल – डिप मिड विकेटमा अर्को छक्का ।
यस ओभरमा वैभवले ३० रन बनाए, जसमा तीन छक्का र त्यति नै चौका समावेश थिए ।
राशिद खानको अर्को ओभरमा स्ट्राइक पाउने बित्तिकै उनले फेरि बललाई बाउन्ड्री माथिबाट छक्का प्रहार गरे र यसरी ११ छक्का र सात चौका प्रहार गर्दै आईपीएल इतिहासको दोस्रो सबैभन्दा छिटो शतक बनाए ।
द्रविड ह्वीलचेयरबाट उठे
वैभवको यो उपलब्धिको लागि सम्पूर्ण रङ्गशाला तालीले गुन्जियो, सबै जना वैभवको सम्मानमा उभिरहेका थिए ।
वैभवको सम्मानमा प्रशिक्षक राहुल द्रविड पनि आफ्नो ह्वीलचेयरबाट उठे र ताली बजाउन थाले । खुट्टामा चोट लागेका कारण द्रविडले बैसाखी र ह्वीलचेयर प्रयोग गर्नुपरेको छ ।
सन् १९९६ मा शाहिद अफ्रिदीले एकदिवसीयमा केवल ३७ बलमा शतक प्रहार गर्दा अविश्वसनीय लाग्यो, तर १४ वर्षीय वैभव सूर्यवंशीले जे गरे त्यो अकल्पनीय थियो ।
वैभवले आफ्नो इनिङमा थप एक रन थपे र प्रसिद्ध कृष्णको बलमा बोल्ड भए र यससँगै आइपीएलको १८ वर्षमा अहिलेसम्म देखिएको सबैभन्दा अद्भुत इनिङको अन्त्य भयो ।
प्याभिलियन फर्कनुअघि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका यशस्वी जयस्वाल र नितिश राणाले उनलाई अँगालो हाले भने । सिराज, साई सुदर्शनलगायत गुजरात टाइटन्सका धेरै खेलाडी उनको नजिक गएर बधाइ दिए ।
खेलको कमेन्ट्री गरिरहेका पूर्व क्रिकेटर शास्त्रीले भने, ‘कस्तो अद्भुत इनिङ थियो ।’
शास्त्रीसँगै कमेन्ट्री गरिरहेका वेस्ट इन्डिजका पूर्व क्रिकेटर ड्यारेन गङ्गाले भने, “एउटा ऐतिहासिक इनिङ समाप्त भएको छ । यो एकदमै विशेष इनिङ थियो ।”
रेकर्ड बुक
आफ्नो शतकका साथ राजस्थानलाई जित दिलाउने वैभव सूर्यवंशीले धेरै आईपीएल रेकर्ड तोडे र थपे ।
- आईपीएलमा सबैभन्दा छिटो शतक बनाउने भारतीय खेलाडी बने,
- आईपीएल इतिहासमा दोस्रो सबैभन्दा छिटो शतक । सबैभन्दा छिटो शतकको रेकर्ड क्रिस गेल (३० बल) को नाममा छ ।
- वैभव टी-२० क्रिकेटमा सबैभन्दा कान्छो शतक बनाउने खेलाडी (१४ वर्ष ३२ दिन )।
- ११ छक्का प्रहार गर्दै वैभवले मुरली विजयको आईपीएल इनिङ्समा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान बराबरी गरे ।
- वैभवको ९३.०६% रन (१०१ रन मध्ये ९४) चौका वा छक्काबाट आएको थियो । यो टी-२० मा बनाएको शतकको उच्चतम प्रतिशत हो ।
- यसबाहेक करीम जन्नतको ओभरमा वैभवले ३० रन बनाए । यो कुनै पनि आईपीएल बलरको करिअरको पहिलो ओभरमा रेकर्ड हो ।
- राजस्थानले १५.५ ओभरमा २१० रन बनाएर जित हात पार्यो । यो टी-२० मा २०० भन्दा बढीको स्कोर पछ्याउने सबैभन्दा कम ओभरको रेकर्ड हो ।
Facebook Comment
Comment