काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्दै छन् । खेल जयपुरस्थित घरेलु मैदानमा नेपाली समयअनुसार बेलुका पौने ८ बजे सुरु हुनेछ।
जारी सिजनमा गुजरात टाइटन्सले आठ खेलमा १२ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा आफूलाई उभ्याएको छ। उता, नौ खेलमा चार अङ्क मात्र बटुलेको राजस्थान रोयल्स तालिकाको पुछारबाट दोस्रो स्थानमा रहेको छ।
आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण हुने देखिन्छ। गुजरात शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउन चाहन्छ भने राजस्थान अङ्क तालिकामा सुधार ल्याउने लक्ष्यका साथ मैदानमा उत्रनेछ।
आइतबार राति भएका दुई खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरुले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्यो भने मुम्बई इन्डियन्सले लखनउ सुपर जायन्ट्सलाई ५४ रनको फराकिलो अन्तरले हराएको छ।
Facebook Comment
Comment