काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको जम्मू–कश्मीरस्थित पहलगाममा भएको आतङ्कवादी आक्रमणप्रति दुःख व्यक्त गरेका छन् ।
शाहले शनिबार एक समवेदना सन्देश जारी गर्दै उक्त आक्रमणका कारण हिन्दू यात्रीहरूको निधन भएकोप्रति आफू दुःखी भएको बताएका हुन् ।
‘हालै हाम्रो छिमेकी मित्रराष्ट्र भारतको जम्मु–कश्मीर पहलगाममा भएको आतङ्ककारी आक्रमणका कारण धेरै हिन्दू यात्रीहरुको दुःखद् निधन भएकोमा हामीलाई अत्यन्त दुःख लागेको छ’ पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो घटनामा परी ज्यान गुमाएका एक नेपालीसहित सबै दिवंगत आत्माप्रति हाम्रो भावपूर्ण श्रद्धाञ्जलि । साथै मृतकजनका सबै शोकसन्तप्त परिवारमा हाम्रो आत्मीय समवेदना ।’
यो घटनाले सम्पूर्ण विश्वक्षेत्र र समग्र हिन्दू समुदायलाई नै मर्माहत पारेको बताउँदै उनले यसको जति निन्दा गरे पनि थोरै हुने बताएका छन् ।
‘वसुधैव कुटुम्बकम्’को आदर्शविपरीत यस्ता अपराध हुनु पाप कर्म रहेको पूर्वराजा शाहले बताएका छन् ।
‘वसुधैव कुटुम्बकम्को आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दू धर्मावलम्बीहरूको दिव्य मानवीय मान्यता हो । त्यो मान्यताविपरीत यस प्रकारका जघन्य अपराध गर्नु गराइनु सर्वथा धर्म निषिद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण विश्वक्षेत्र र समग्र हिन्दू समुदायलाई नै मर्मान्त पार्न भएको यस्ता घटनाको जति निन्दा गरे पनि थोरै हुन्छ ।’

यही वैशाख ९ गते पहलगाममा भएको घटनामा बुटवलका युवा सुदीप न्यौपानेसहित २४ भारतीय र यूएईका एक नागरिक मारिएका थिए ।
आतङ्ककारीले धर्म सोधीसोधी हिन्दू धर्मावलम्बीलाई गोली हानेको बताइएको छ ।
Facebook Comment
Comment