काठमाडौं । आज (आइतबार) सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ ।
प्रतिनिधिसभाको बैठक संसद् भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने अर्को कार्यसूची छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी राष्ट्रियसभाको बैठक सवा १ बजे बस्नेछ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरूबारे जानकारी गराउने कार्यसूची रहेको छ ।
अध्यक्ष दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउने कार्यसूचीमा रहेको छ ।
राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संसोधन) विधेयक, २०७९’का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन विधेयक, २०८१ पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
Facebook Comment
Comment