काठमाडौं । आगामी जुन महिनामा स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको आधिकारिक खेल तालिका सार्वजनिक भएको छ।
बिहीबार सार्वजनिक गरिएको तालिका अनुसार, यस सिरिजमा नेपाल, नेदरल्याण्ड्स र आयोजक स्कटल्याण्डले प्रतिस्पर्धा गर्नेछन्। यी तीन टोली आईसीसी विश्वकप लिग-२ को एकदिवसीय शृंखला समाप्त भएलगत्तै टी-२० भिडन्तमा उत्रनेछन्।
टी-२० अन्तर्राष्ट्रिय सिरिज जुन १५ देखि २० तारिखसम्म सञ्चालन हुनेछ। तालिका अनुसार सबै खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछन्।
यो शृंखलालाई आगामी जुलाईमा ओमानमा आयोजना हुने पुरुष टी-२० विश्वकप छनोट प्रतियोगिताको लागि महत्वपूर्ण तयारीको रूपमा हेरिएको छ। टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले जुन १६ र १८ मा नेदरल्याण्ड्ससँग तथा जुन १७ र २० मा स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।
यसअघि, यी तीन टोलीले आईसीसी विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन्। उक्त सिरिजमा नेपालले जुन २ र ८ मा स्कटल्याण्डको सामना गर्नेछ भने जुन ४ र १० मा नेदरल्याण्ड्ससँग खेल्नेछ। जारी लिग-२ मा नेपाल अङ्क तालिकाको सातौं स्थानमा रहेको छ। नेपालले १२ खेलमा दुईमा जित, आठमा हार र दुई खेलमा अङ्क बाँडेको छ। लिग-२ को यो संस्करणमा नेपालले अझै २४ खेल खेल्न बाँकी छ।
Facebook Comment
Comment