एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

नेपालभ्युज

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

काठमाडौं । अमेरिकाले अनुदान सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बन्द गर्ने निर्णय गरेको छ । यो परियोजना केही महिनाभित्र बन्द हुने सीएनएनको समाचारमा उल्लेख छ ।

एलन मस्क नेतृत्वको डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसिएन्सी (डीओजीई)द्वारा लिइएको कदमअनुसार विकासशील देशहरूको आर्थिक स्तर उन्नतिका लागि भनेर दिइँदै आएको यो अनुदान सहयोग बन्द हुने भएको हो ।

बन्द हुनेबारे मङ्गलबार नै एमसीसीका कर्मचारीहरूलाई इमेलमार्फत सूचित गरिएको समाचारमा जनाइएको छ । कर्मचारीहरूलाई आगामी मे ५ तारिखदेखि प्रशासकीय बिदामा राखिने सम्भावना रहेको छ ।

नेपालमा एमसीसीअन्तर्गत ५५ करोड अमेरिकी डलरको अनुदान सहयोग प्राप्त भएको छ । परियोजनाअन्तर्गत नेपालमा सडक र हाइड्रोपावरको प्रसारण लाइनका काम एमसीए नेपालमार्फत् अघि बढाइएको छ । तर ट्रम्प प्रशासनको खर्च कटौती नीतिअन्तर्गत एमसीसी परियोजना बन्द भएमा नेपालमा सञ्चालित परियोजनाका अन्तर्गतका काम पनि रोकिने छ ।

एमसीसी परियोजना सन् २००४ मा अमेरिकी कङ्ग्रेसद्वारा राष्ट्रपति जर्ज डब्लू बुशको कार्यकालमा स्थापना गरिएको थियो ।

अमेरिकाका कट्टर आलोचकहरूले भने यो अमेरिकी सैन्य रणनीति अन्तर्गतको परियोजना भनेर आलोचनासमेत गर्ने गरेका थिए ।

अमेरिकी विदेश मन्त्रालयबाट स्वतन्त्र रूपमा सञ्चालित यो संस्थाले हाल २० वटा निम्न–आय भएका देशहरूमा ५.४ अर्ब अमेरिकी डलरभन्दा बढीका अनुदान कार्यान्वयन गर्दै आएको छ । कतिपय देशमा भने कार्यान्वयन गर्ने भनेर सम्झौतामा हस्ताक्षर भइसकेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved