काठमाडौं महानगरले थाल्यो सहकारीको अनुगमन

नेपालभ्युज

काठमाडौं महानगरले थाल्यो सहकारीको अनुगमन

काठमाडौं । काठमाडौं महानगरपालिकाको सहकारी विभागले सहकारी संस्थाहरूको नियमित र आकस्मिक अनुगमन सुरू गरेको छ । कामपा सहकारी विभागका प्रमुख नमराज ढकालको संयोजकत्वमा गठित सहकारी अनुगमन टोलीले गत चैतदेखि नै अनुगमन सुरू गरेको हो ।

प्रमुख ढकालका अनुसार अहिलेसम्म १० वटा सहकारी संस्थाको अनुगमन गरिसकेको छ । यसपटक ४० वटाको अनुगमन गर्ने लक्ष्य छ । अनुगमनका लागि ५६ वटा सूचक निर्धारण गरिएका छन् । यिनै सूचकका आधारमा अनुगमन हुन्छ । अनुगमनमा जनप्रतिनिधि, कर्मचारी, वित्तीय विश्लेषक र अभियानकर्तासहितको टोली छ । सहकारीहरूलाई तीन भागमा वर्गीकरण गरेर अनुगमन योजना बनाइएको टोलीका संयोजक ढकालले जानकारी दिए । उनका अनुसार गुनासा आएका, असल अभ्यास भएका र रू २५ करोड धेरै लगानी भएका सहकारी प्राथमिकतामा छन् ।

कामपाको सहकारी ऐन २०७४ को दफा ७९ र दफा १९६, नेपाल सरकार, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट जारी बचत ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको सुपरीवेक्षण, निरीक्षण तथा अनुगमन निर्देशिका, २०७७ को दफा ३० को उपदफा (२) बमोजिम समिति गठन गरिएको हो । समितिलाई अनुगमन सूचकको अधिनमा सम्बन्धित वडा समितिसँगको समन्वय र सहयोगमा अनुगमन गर्ने जिम्मेवारी दिइएको छ । टोलीले वित्तीय विश्लेषक, परामर्शदाता र विज्ञको सहयोगमा नियामकीय क्षेत्रभित्र पर्ने सहकारी संस्थाहरूको अनुगमन गर्ने र प्रतिवेदन तयार पार्नेछ ।

कामपाको कार्यक्षेत्र भएका एक हजार ९१७ वटा सहकारी संस्था छन् । यीमध्ये २०८०/०८१ को साधारणसभाको विवरण अद्यावधिक गराउनेको सङ्ख्या ७५० रहेको छ । सहकारी तथा गरिबीसम्बन्धी एकीकृत व्यवस्थापन सूचना प्रणाली (कोअपरेटिभ एण्ड पोभर्टी रिलेटेड म्यानेजमेन्ट इन्फरमेसन सिस्टम–कोपोमिस) मा दर्ता भएका सहकारीको सङ्ख्या एक हजार ७४८ छ । दुई वटा समस्याग्रस्त घोषणा भएका सहकारी छन् ।

टोलीमा फागुन २३ गतेको प्रमुख प्रशासकीय अधिकृतस्तरीय निर्णयानुसार गठित टोलीमा काठमाडौं जिल्ला सहकारी सङ्घका अध्यक्ष सुमन केसी, सहकारी विभागका शाखा अधिकृत नारायण विक र लेखापाल दीपेन्द्र केसी सदस्य छन् । सहकारी नियमन महाशाखा प्रमुख हरिबहादुर पाटामगर समितिको सदस्य सचिव छन्  । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved