काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी साउदी अरेबिया भ्रमणका लागि आज (मङ्गलबार) त्यसतर्फ प्रस्थान गरेका छन् । दुई दिने भ्रमणका लागि उनी साउदीको जेद्दा गएका हुन् ।
साउदीमा आफूले विभिन्न बैठक र कार्यक्रमहरूमा भाग लिने प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समा जानकारी दिएका छन् ।
‘म साउदी अरेबियाको जेद्दा जाँदैछु । जहाँ म विभिन्न बैठक र कार्यक्रमहरूमा भाग लिनेछु । भारत र साउदीबीच लामो समयदेखि राम्रो सम्बन्ध रहेको छ र पछिल्ला १० वर्षमा यी सम्बन्धहरू अझ बलियो भएका छन्,’ उनले भनेका छन्, ‘रणनीतिक साझेदारी परिषद्को दोस्रो बैठकमा भाग लिन पाउँदा म उत्साहित छु । यसका साथै, म त्यहाँ बसोबास गर्ने भारतीय जनतालाई पनि भेट्नेछु ।’
साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानको निमन्त्रणामा प्रधानमन्त्री मोदी रियाद पनि जाँदैछन् ।
यसअघि, सन् २०२३ मा साउदी अरेबियाका युवराज भारतमा आयोजित टी–२० शिखर सम्मेलनको लागि नयाँ दिल्ली आएका थिए ।
यस्तै २०१४ मा प्रधानमन्त्री बनेपछि मोदीले साउदी अरेबियाको भ्रमण गरेको यो तेस्रो पटक हो । यसअघि उनले २०१६ र २०१९ मा साउदीको भ्रमण गरेका थिए ।
यतिबेला अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारत भ्रमणमा छन् । उनले सोमबार मात्रै भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता गरेका थिए । यसपछि मोदी मङ्गलबार साउदी प्रस्थान गरेका हुन् ।
मोदीलाई भेटेपछि भान्सले भने– उहाँजस्ता महान् नेतालाई भेट्नु मेरा लागि सम्मानको विषय
Facebook Comment
Comment