काठमाडौं । भारतको कर्नाटक राज्यका पूर्व प्रहरी महानिदेशक (डीजीपी) ओम प्रकाशको हत्या प्रकरणमा प्रहरीले श्रीमती पल्लवीलाई पक्राउ गरेको छ ।
पल्लवीलाई अदालतमा पेस गरिसकेको भारतीय प्रहरीले जनाएको छ । उनलाई १४ दिनको न्यायिक हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
मिडिया रिपोर्टअनुसार घटनामा छोरी पनि पक्राउ परेकी छन् ।
प्रहरी स्रोतका अनुसार घटना भएको समयमा ओम प्रकाश घरमा खाना खाँदै थिए । यसै क्रममा श्रीमान्-श्रीमतीबीच झगडा भयो ।
विवाद यहाँसम्म बढ्यो कि श्रीमतीले उनको हत्या गरिन्।
पल्लवीले पहिले ओम प्रकाशको आँखामा खुर्सानीको धुलो हालिन् र जलनबाट राहत पाउन डीजीपी यता उता दौडिरहेको बेलामा पल्लवीले उनको घाँटी, पेट र छातीमा १०-१२ पटक छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
घटनाको समयमा छोरी कृति पनि त्यहाँ उपस्थित थिइन् ।
अनुसन्धानसँग सम्बन्धित स्रोतका अनुसार हत्या हुनुभन्दा पाँच दिनअघि श्रीमतीले गुगलमार्फत मृत्युको षड्यन्त्र रचेकी थिइन् । गुगलमा घाँटीको ‘नसा काट्दा मृत्यु कसरी हुन्छ’ जस्ता कुराहरू खोजेको पाइएको छ । उपकरणहरू र खोज इतिहासको जाँच गरेपछि यो कुरा खुलासा भएको हो।
प्रहरीका अनुसार हत्या पूर्वनियोजित हो ।
यसैबीच, प्रारम्भिक अनुसन्धानले हत्यापछि पूर्व डीजीपीकी श्रीमतीले अर्का आईपीएस अधिकारीकी श्रीमतीलाई सन्देश पठाएको खुलासा गरेको छ – ‘एउटा राक्षस मारिएको छ ।’ पछि पल्लवीले उनलाई फोन गरिन् र आफूले ओमप्रकाशको हत्या गरेको बताइन्। यसपछि आईपीएस अधिकारीले आफैँले प्रहरीलाई जानकारी दिए।
छोरा कार्तिकेशको उजुरीमा पूर्व डीजीपीकी श्रीमती र छोरी कृतिविरुद्ध हत्याको मुद्दा दर्ता गरेपछि पक्राउ गरिएको थियो ।
कार्तिकेषले आफ्नी आमा पल्लवीले पछिल्लो एक हप्तादेखि बुवालाई मार्ने धम्की दिइरहेको आरोप लगाएका छन्। धम्कीका कारण बुवा आफ्नी बहिनीको घरमा बस्न गएका थिए ।
दुई दिनअघि कान्छी बहिनी कृति त्यहाँ गइन् र आफ्नो बुवाको इच्छा विपरीत उनलाई फिर्ता ल्याइन् । दुवै जनाको बुवासँग प्रायः झगडा हुन्थ्यो। यसअघि कार्तिकेषले एक टिभी च्यानललाई बताएअनुसार आमा पल्लवी गम्भीर मानसिक रोगबाट पीडित छिन् । उनी विगत १२ वर्षदेखि सिजोफ्रेनिया (भ्रम र डरले भरिएको रोग)को उपचार गराइरहेका छन्।
सम्पत्तिको विवाद
मिडिया रिपोर्टअनुसार ओम प्रकाश र उनकी श्रीमती पल्लवीबीच सम्पत्तिलाई लिएर विवाद थियो ।
ओम प्रकाशले सम्पत्ति आफन्तलाई हस्तान्तरण गरेका थिए । यसै कारणले गर्दा दुई जनाबीच बारम्बार झगडा हुन्थ्यो, जसले पछि हत्यासम्म पुर्यायो ।
हत्यामा उनकी छोरीको कुनै भूमिका छ कि छैन भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । बैङ्गलुरुका अतिरिक्त प्रहरी आयुक्त विकास कुमारले गत आइतबार साँझ ४ बजेतिर अवकाशप्राप्त अधिकारीको मृत्युको बारेमा प्रहरीले जानकारी पाएको बताए।
कर्नाटकका गृहमन्त्री जी परमेश्वरले अनुसन्धान भइरहेको जानकारी दिए ।
Facebook Comment
Comment