काठमाडौं । भारत भ्रमणमा रहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् । दुई नेताबीच सोमबार साँझ नयाँ दिल्लीमा भेटवार्ता भएको हो ।
भेटपछि उपराष्ट्रपति भान्सले मोदीजस्ता महान् नेतालाई भेट्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको बताएका छन् ।

‘सोमबार साँझ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्नु मेरा लागि सम्मानको कुरा थियो । उहाँ एक महान नेता हुनुहुन्छ र उहाँले मेरो परिवारसँग धेरै राम्रो व्यवहार गर्नुभयो, उनले आफ्नो सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा हाम्रो मित्रता र साझेदारीलाई सुदृढ पार्न भारतीय जनतासँग काम गर्न म तत्पर छु ।’
भान्स आफ्नी श्रीमती उषाबाला चिलुकुरी र तीन छोराछोरीका साथ भारत भ्रमणमा छन् । उषा भारतीय मूलकी हुन् ।
भारतका प्रधानमन्त्री मोदीले सोमबार अमेरिकी उपराष्ट्रपति र उनको परिवारलाई प्रधानमन्त्री निवास ७ लोक कल्याण मार्गमा स्वागत गरेका थिए ।

मोदीले पनि यस भेटघाटका बारेमा प्रतिक्रिया जनाएका छन् । भारत–अमेरिका सम्बन्धमा द्रुत प्रगतिको बारेमा छलफल गरेको उनको भनाइ छ ।
‘अमेरिकी उपराष्ट्रपति जेडी भान्स र उनको परिवारलाई नयाँ दिल्लीमा स्वागत गर्न पाउँदा खुसी लाग्यो । मेरो अमेरिकी भ्रमण र राष्ट्रपति ट्रम्पसँगको भेटपछि, हामीले भारत–अमेरिका सम्बन्धमा द्रुत प्रगतिको बारेमा छलफल गर्यौं,’ उनले एक्समा लेखेका छन्, ‘दुवै देश व्यापार, प्रविधि, रक्षा, ऊर्जा र जनता–जनता सम्बन्धलगायत धेरै क्षेत्रमा मिलेर काम गर्न तयार छौं ।’
प्रधानमन्त्री मोदीले भारत र अमेरिकाबीचको साझेदारीलाई २१औं शताब्दीको महत्त्वपूर्ण साझेदारीको रूपमा वर्णन गरेका छन् ।
अमेरिकी उपराष्ट्रपति भान्स भारतमा
Facebook Comment
Comment