काठमाडौं, वैशाख ८ गते । काठमाडौंको तीनकुनेमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले गरेको प्रदर्शनमा सुरक्षा व्यवस्थापनमा देखिएको कमजोरीबारे छानबिन गर्न प्रहरीले समिति गठन गरेको छ।
प्रहरी प्रधान कार्यालयको निर्देशनमा उपत्यका प्रहरी कार्यालयले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेखर खनालको नेतृत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको हो।
गृह मन्त्रालयका उच्च अधिकारीका अनुसार, चैत १५ गते दुर्गा प्रसाईं र नवराज सुवेदी नेतृत्वको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु हुनु र आगजनीमा परी पत्रकार सुरेश रजकले ज्यान गुमाउनुको साथै अन्य हिंसात्मक घटना भएपछि सुरक्षा निकायको तर्फबाट कमजोरी भएको निष्कर्ष निकालिएको छ। सोही कारण छानबिन समिति गठन गरिएको हो।
छानबिन समितिले प्रदर्शनको क्रममा सुरक्षाकर्मीहरूले सम्भावित खतराको मूल्यांकन गर्न नसकेको, प्रभावकारी योजना नबनाएको र प्रसाईंको समूहले सुरक्षा घेरा तोडेको लगायतका विषयमा विस्तृत अनुसन्धान गर्नेछ। मञ्चमा कसरी अश्रुग्यास प्रहार भयो भन्ने विषयमा पनि समितिले छानबिन गर्नेछ।
उपत्यका प्रहरी कार्यालयका एक अधिकारीले छानबिन प्रतिवेदनको आधारमा सुरक्षा व्यवस्थापनमा कमजोरी देखिएका सुरक्षाकर्मीहरूमाथि आवश्यक कारबाही गरिने बताएका छन्।
Facebook Comment
Comment