काठमाडौं । हाल देशमा स्थानीय वायु तथा पश्चिमी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जसको प्रभावले हाल कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहेको छ । महाशाखाका अनुसार कोशी र बागमतीका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज (आइतबार) दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ । कोशीलगायत देशको पहाडी भूभागका केही स्थान र बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
Facebook Comment
Comment