काठमाडौं । सिरहाको नवराजपुर गाउँपालिका–३ जगतपुर दोनवारी टोलकी आनन्दीदेवी सदायको मृत्युबारे छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन गरिएको छ ।
एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो । समितिमा इन्स्पेक्टर विक्रम शाह र एक जना सहायक हवल्दार सदस्य रहेको मधेसका प्रहरी प्रमुख डीआईजी लालमणि आचार्यले जानकारी दिए ।
आनन्दी गत मङ्गलबार दिउँसो ३ बजे आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।
गत पुस ९ मा उनीमाथि गाउँकै २२ वर्षीय सञ्जीवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले सामूहिक बलात्कारको प्रयास गरेका थिए ।
तर, सोही दिन इलाका प्रहरी कार्यालय, महेशपुर पतारमा जाहेरी दिएपनि आरोपित पक्ष र प्रहरीले पनि पीडितलाई गाउँमै मिल्न दबाब दिएको थियो । प्रहरीले सुनुवाइ नगर्दा पीडित परिवार मिडियामा जाने तयारी गरेपछि अढाइ महिनापछि फागुन २५ मा बल्ल उनको जाहेरी दर्ता भएको थियो ।
तर, मुद्दा दर्ता भएपनि आरोपितलाई पक्राउ गर्न प्रहरीले आनाकानी गर्दै आएको थियो । उनीहरू अझै पनि पक्राउ परेका छैनन् ।
Facebook Comment
Comment