काठमाडौं । रियल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व खेलाडीसमेत रहिसकेका रोबर्टो कार्लोस एनसेल नेपाल सुपर लिग (एनएसएल) का लागि नेपाल आउने भएका छन् ।
प्रमुख अतिथिको रूपमा एनएसएल क्वालिफायर खेलमा रोबर्टो कार्लोस उपस्थित हुने भएपछि नेपाली खेल प्रेमीहरूमा उत्साह थपिएको छ ।
लिगका दुई लोकप्रिय र बलिया टोलीहरू ललितपुर सिटी फुटबल क्लब र धनगढी फुटबल क्लबबीच हुने यो भिडन्त केवल एक खेल मात्र नभई गत वर्षको फाइनलको पुनरावृत्ति पनि रहने बताइएको छ ।
दुई पटक फाइनलमा पुगेको धनगढी एफसी अझै आफ्नो पहिलो एनएसएल उपाधिको खोजीमा छ, जबकि ललितपुर सिटी एफसी आफ्नो उपाधि रक्षा गर्ने तयारीका साथ डिफेन्डिङ च्याम्पियनको रूपमा मैदानमा प्रवेश गर्नेछ ।
फुटबलका ग्लोबल आइकन रोबर्टो कार्लोस आफ्नो शक्तिशाली फ्रिकिक, गति र मैदानमा अतुलनीय ऊर्जाका लागि परिचित छन् । रियल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व खेलाडीसमेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसा गरिएको डिफेन्डरहरू मध्ये एक हुन् ।
फिफा विश्वकप र चार ला लिगा उपाधिहरू सहित दुई दशकभन्दा लामो व्यावसायिक फुटबल खेलका उनले विश्वभरका लाखौँ फुटबल प्रेमीहरूलाई प्रेरित गरेका छन् ।
कार्लोस क्वालिफायर खेलको एक दिन अघि वैशाख ५ गते नेपाल आइपुग्ने छन् । सोही दिन उनी एक गाला डिनर, एक विशेष भेटघाट र अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् । खेलका टिकट खल्ती एपबाट काट्न सकिने जनाइएको छ ।
Facebook Comment
Comment