काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज (सोमबार) कारागार चलान हुँदैछन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा रहेका उनी सोमबार कारागार चलान हुने भएका हुन् ।
लामिछानेलाई आज प्रक्रिया पूरा गर्नका लागि रुपन्देही जिल्ला अदालतमा उपस्थित गराइँदै छ ।
उनलाई कारागार पठाउने प्रक्रिया पूरा गर्नका लागि अदालतमा उपस्थित गराइने भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । आवश्यक प्रक्रिया पगेपछि उनी जिल्ला कारागार चलान हुनेछन् ।
सङ्गठित रुपमा सहकारी ठगी गरेको आरोप खेपिरहेका लामिछानेलाई तुलसीपुर उच्च अदालतको बुटवल इजलासले शुक्रबार थुनामा पठाउन आदेश दिएको थियो ।
न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले उनलाई शुक्रबार थुनामा पठाउने आदेश गरेको हो ।
त्यसपछि शुक्रबार राति प्रहरीले उनलाई बूढानीलकण्ठस्थित निवासबाट नियन्त्रणमा लिएको थियो ।
शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका लामिछानेलाई शनिबार बिहान जहाजमार्फत रुपन्देही लगिएको थियो ।
बुटवलको सुप्रिम बचत तथा सहकारी ठगी प्रकरणमा पूर्वउपप्रधान तथा गृहमन्त्री लामिछानेलाई यसअघि रुपन्देही जिल्ला अदालतले १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । उच्च अदालतले यसलाई उल्ट्याएर थुनामा राख्ने आदेश दिएको हो ।
Facebook Comment
Comment