रातारात रविको पक्राउ मानवअधिकार र न्यायप्रणालीको उल्लंघन : सोबिता गौतम

नेपालभ्युज

रातारात रविको पक्राउ मानवअधिकार र न्यायप्रणालीको उल्लंघन : सोबिता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतमले पार्टीका सभापति रवि लामिछानेलाई रातारात घरबाटै पक्राउ गर्नु मानवअधिकार र न्याय प्रणालीको उल्लंघन रहेको टिप्पणी गरेकी छिन् ।

शनिबार सामाजिक सञ्जालमार्फत सांसद गौतमले आफ्नो धारणा राख्दै सभापति लामिछानेलाई सरकारले  कानुनी आवश्यकताले भन्दा राजनीतिक प्रतिशोध राखेर पक्राउ  गरेको उल्लेख गरेकी छिन् । पक्राउ व्यक्तिमाथिको अन्याय मात्रै नभएर विधिको शासनमाथिको आक्रमण रहेको उनको भनाइ छ ।

‘जब राज्यका संयन्त्रहरू आफैंले कानुनको पालना गर्न छाड्छन्, अनि कसैको पक्राउ कानुनी आवश्यकता नभएर राजनीतिक प्रतिशोध बन्न पुग्छ त्यहाँ लोकतन्त्रको देहावसान हुन्छ,’ गौतमले भनेकी छिन्, ‘हाम्रो पार्टी सभापति रवि लामिछानेमाथि हिजो भएको व्यवहार र घटना एउटा व्यक्तिमाथिको अन्याय मात्र होइन, संविधान र विधिको शासनमाथिको गम्भीर आक्रमण हो ।’

पक्राउ पुर्जीबिनै सभापति लामिछानेको घरमा प्रहरी पुगेकोप्रति उनले आपत्ति व्यक्त गरेकिछिन् ।  ‘पक्राउ पुर्जी अर्काको घरमा बिना अनुमति दलबलसहित गएर कागजमा लेखेर दिने विषय हो ? पक्राउ गर्न गएर बल्ल पक्राउ पुर्जी जारी गर्ने अधिकार कसले दियो ?’

यो तरिका  कुनै त्रुटि भन्दा पनि संविधान र न्याय प्रणालीको उल्लंघन भएको बताइन् ।‘यो कुनै त्रुटि हैन । संविधानको धारा २० र न्याय प्रणालीको आधारभूत सिद्धान्तहरूको स्पष्ट उल्लंघन हो,’ उनले भनेकी छिन्, ‘यो नियोजित बलमिच्याइँ हो । कानुनलाई हतियार बनाएर राज्यले एक नागरिक माथि गरेको अत्याचार हो ।’

सांसद गौतमले यसलाई मानव अधिकार उल्लघंनको घटना भएको उल्लेख गरेकिछिन् । ‘कालान्तरमा न्यायको पक्षमा फैसला त होला तर रातारात घरबाट तानेर लगिएको त्यो क्षण, त्यो डर, अपमान कसरी फिर्ता हुन्छ ? यो मानवअधिकार उल्लंघनको मुद्दा हो,’ उनले भनेकी छिन्, ‘आफ्नो ग्रेड खस्किने डरमा सरकार र संसदसँग पटक पटक लबी गर्ने मानवअधिकार आयोग साँच्चै मानव अधिकार उल्लंघन हुँदा कहाँ छ ?’

कानुनकै नाममा हुने हिंसा सबैभन्दा खतरनाक भएको उनको भनाइ छ । यो विषयलाई  लिएर पार्टीले अन्तर्राष्ट्रिय मानवअधिकार नियोगका ढोका ढकढक्याउने उनको भनाइ छ  ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved