सुनसरी । सुनसरीस्थित नेपालकै एक ठूलो कपास धागो उत्पादक उद्योग रिलायन्स स्पिनिङ मिल्समा नियमित बिजुली नहुँदा त्यहाँ काम गर्ने मजदुरहरूले सास्ती भोग्नु परेको छ ।
नेपाल विद्युत् प्राधिकरणले बक्यौता विवादमा उद्योगको लाइन काटेपछि कामदारहरू मारमा परेका हुन् ।
उद्योगमा साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म विद्युत् जाने गरेको थियो । तर केही दिनयता भारतले थप विद्युत् नेपाललाई दिने भएपछि यसअघि १२ घण्टासम्म हुने गरेको लोडसेडिङ घटेर ५ घण्टामा झरेको रिलायन्सका कार्यकारी अधिकृत महेश पोखरेलले जानकारी दिए । ‘लोडसेडिङ घटेर १२ घण्टाबाट ५ घण्टामा झरेको छ । तर त्यसले पनि अझैँ समस्या समाधान हुन सकेको छैन,’ पोखरेलले नेपालभ्युजसँग भने ।
हाल उद्योगमा चार हजार कर्मचारी कार्यरत छन् । जसमध्ये करिब दुई हजार कर्मचारी उद्योगमै बनाइएको आवास गृहमा बस्दै आइरहेको र नियमित बिजुली नहुँदा उनीहरू मारमा परेको उद्योगका कर्मचारी परशुराम चौधरी बताउँछन् । उनका अनुसार उद्योगमा दिउँसो पनि समय समयमा बिजुली जाने हुँदा थप समस्या उत्पन्न भएको छ ।
रोजीरोटी गुम्ने चिन्ता
करिब दुई दशक लामो समयदेखि रिलायन्स स्पिनिङमा कार्यरत रहेका उनी आफैँ अहिले कहाँ जाऊँ के गरौँ भन्ने अवस्थामा पुगिसकेको बताउँछन् । ‘साँझ पर्ने बित्तिकैदेखि लाइन जान्छ । न पानी छ न बत्ती, बिजोग भइसक्यो,’ चौधरी भन्छन्, ‘मैले काम थालेको २२ वर्ष भयो । म त अब विस्थापित हुने अवस्थामा पुगिसकेँ अरू जुनियर कर्मचारीको हालत त झन् के होला ?’
करिब डेढ महिनादेखि यो समस्या रहेको उनको भनाइ छ । काम नभएकाले तलब पनि नहुने उनको गुनासो छ ।
आवास गृहमा बस्ने कामदारहरूका कतिपय बच्चाहरूले यस वर्ष एसईई परीक्षा दिएका छन् । तर, उनीहरूले एसईई चलिरहँदा पनि रातको समयमा पढ्न नपाएको उद्योगका अर्का कर्मचारी उमेश आचार्य बताउँछन् ।
कामदारका लागि बनाइएको आवास गृह
‘यहाँ त बिजोग छ, बच्चाहरूले रातको समयमा पढ्न पाउँदैनन् पूरै अन्धकार हुन्छ । एसईई दिने बच्चाहरू छन्, उनीहरूले पनि पढ्न पाएनन्,’ आचार्य सुनाउँछन् ।
उद्योगमा भएको पुरानो जेनरेटर पनि बिग्रिएपछि बिजुली नहुँदा उद्योगमा पानी पनि नभएको भन्दै आचार्य प्रश्न गर्छन्, ‘अब कसरी बाँच्ने हामी ?’
उनले २० वर्षदेखि रिलायन्स स्पिनिङमा काम गर्दै आइरहेका छन् । पुराना कर्मचारी भएको कारण पनि उनलाई उद्योगको बारेमा धेरै थाहा छ । उद्योगबाट पाउनुपर्ने सुविधाहरू पनि भरपुर उनले पाएका थिए । तर, अब उद्योगमा उत्पादन घटेको कारण उनको सेवा सुविधा पनि कटौती भएको छ ।
आचार्यका अनुसार उद्योगमा काम गर्ने उनीजस्तै धेरै कर्मचारीको सेवा सुविधा कटौती भएको छ । त्यति मात्र नभएर उद्योगले नयाँ नयाँ कामदारहरूलाई पनि हटाउने काम गरिरहेको छ ।
‘हरेक वर्ष कम्पनीले हामीलाई नाफाको १० प्रतिशत दिन्थ्यो, तर यो पाली हामीले पाएनौँ । पहिला ३ सिफ्टमा हुने काम अहिले एक सिफ्टमा मात्र हुन्छ,’ उद्योगका कर्मचारी आचार्यले भने, ‘कतिपय मजदुर कटौती गरिसक्यो । कोही बिदामा छन् । कोही लाइन आएपछि काम गर्नुपर्छ भनेर स्टकमा छन् । काम छैन, बिजोग छ ।’
उनकै भनाइमा समर्थन जनाउँदै अर्का कर्मचारी चौधरीले पनि बोनस पाउन छाडेको गुनासो गरेका छन् । उनी भन्छन्, ‘पोहोर परार त बोनस पनि टन्नै आउँथ्यो, तर अहिले काम नै हुँदैन । दिनमा दुई तीन घण्टा मात्र काम हुन्छ । अहिले न तलब न बोनस् ।’
उद्योगमा उत्पादित धागो
उद्योगको अन्धकारबाट डराएका महिला कामदार
हाल उद्योगको आवास गृहमा बसोबास गर्ने करिब १६ सय महिला कामदार रहेका छन् । आवास गृहमा बसोबास गर्ने मनीषा बजगाई्ं साँझ पर्ने बित्तिकै बत्ती जाने उद्योगको अन्धकारमय जीवन बिताउनु परेको गुनासो गर्छिन् ।
उद्योगमै काम गरेर परिवार पालिरहेकी मनीषा भन्छिन्, ‘साँझ पर्ने बित्तिकै बत्ती हुँदैन । राती यताउता हिँड्न पनि डरैमर्दाे हुन्छ । हातमुख जोड्ने बाटो यही हो, यहाँको हालत यस्तो छ । अब के गर्ने थाहा छैन ।’
उनी काम छाडेर विदेश जाने सोच आए पनि सोचेजस्तो सजिलो नभएको बताउँछिन् । प्राधिकरणले लाइन काटेर उद्योग मात्र नभएर हजारौँ श्रमिकको रोजीरोटी खोसेको उनको आरोप छ ।
‘उनीहरूलाई जे गरे पनि हुन्छ । जसले जता जे गरे पनि दुःख पाउने त हामी जनताले नै हौ । कसलाई मतलब छ हाम्रो ?,’ उनको प्रश्न छ, ‘हामी श्रम गरेर खानेको बिचल्ली बनाएर के पाउँछन् ?’
Facebook Comment
Comment