काठमाडौं । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)मा नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुले विरासत जोगाएको छ ।
मङ्गलबार बिहान सकिएकाे मतगणनाअनुसार स्ववियु अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ६०२ मतको भारी अन्तरले विजयी भएका छन् । उनले एक हजार १०५ मत ल्याएका हुन् ।
उनका निकतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसनिकट नेविसङ्घका सुशील न्यौपानेले ५०३ मत ल्याए ।
यस्तै तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार विप्लवी न्यौपाने रहँदा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी भने चौथो स्थानमा सीमित भएको छ । न्यौपानेले ४६९ तथा क्रान्तिकारीका नवीन अधिकारीले २२३ मत मात्र ल्याए ।
यसैगरी सचिव र कोषाध्यक्षमा पनि अनेरास्ववियुले नै बाजी मारेको छ । सचिवमा अनेरास्ववियुका विराट दुवाडी विजयी भए । सचिवमा नेविसङ्घका विवके भट्टराई दोस्रो हुँदा क्रान्तिकारीका उम्मेदवार मिराज थापा मगर तेस्रोमा सीमित भएका छन् ।
त्यस्तै कोषाध्यक्षमा अनेरास्ववियुकै सन्दिका गुरुङ विजयी भइन् । नेविसङ्घकी अमिषा यादव दोस्रो हुँदा संयुक्त प्यानलका सचिन पौडेल तेस्रो भए ।
क्रान्तिकारीकी सिर्जना शर्मा भने चौथोमा सीमित भइन् ।

पीएन क्याम्पसमा गत आइतबार स्ववियुको निवार्चन भएको थियो । यस क्याम्पसमा १६ वर्षपछि निर्वाचन भएको हो । अन्तिम पटक २०६५ सालमा रश्मि आचार्य स्ववियु अध्यक्ष भएका भएका थिए । यसपछि विवादका कारणले चुनाव हुन सकेको थिएन । यसपटक पनि चैत ५ गते र त्यसको भोलिपल्ट पनि विवादकै कारण चुनाव हुन नसक्दा आइतबारका लागि तय गरिएको थियो ।
यहाँ विगतमा अनेरास्ववियुबाहेक अन्यले जित्न सकेका थिएनन् । यो पटक पनि अनेरास्ववियुले सोही विरासत कायम राखेको छ ।
पीएन क्याम्पसमा १६ वर्षपछि स्ववियु निर्वाचन, अनेरास्ववियुलाई विरासत जोगाउने चुनौती
Facebook Comment
Comment