सिराहा । औरही नगरपालिका-५ मा महायज्ञ लगाउने भन्दै दीपक मरिक (डोम)को घर भत्काइएको छ ।
यही चैत्र १७ गर्ने विष्णुको महायज्ञ लगाइने स्थान नजिकै घर भएकोले भूमि अपवित्र हुन्छ भन्दै पालिकाले नै भत्काएको दीपककी पत्नि अनिता मरिक बताउँछिन् ।
उनका अनुसार महायज्ञ मण्डप वरपर दलितको बसाइँ र आउजाउले भगवान् अपवित्र हुन्छ भन्दै महायज्ञका आयोजक बजरङ्गी बाबाले पालिका अध्यक्ष शिवजी यादवलाई घर भत्काउन लगाएका हुन् । लगत्तै अध्यक्ष यादवले डोजर लगाएर घर भत्काइएका हुन् ।
अहिले पालिकाले नै उनीहरूलाई मानव बस्तीभन्दा पर बाँसको टाँटी लगाएर टहरा बनाइदिएका छन् । अनिताका अनुसार त्यहाँ पानी र बिजुली केही पनि छैन । साथै, उनीहरूको पुरानो घर भएको स्थानमा दलित बसेको भूमि पनि अपवित्र हुन्छ भन्दै ताछेर माटो फालिएको अनिताले बताइन् ।
उता गाउँपालिकाका अध्यक्ष यादवले घर भत्काएको कुरा सहर्ष स्वीकारे पनि दलित भएकै कारण यस्तो गरिएको भन्ने विषय मान्न तयार छैनन् । उनी मरिक परिवारको घर भत्काएर पर सारिनुको कारण सो स्थानमा महायज्ञ लगाएर कृषि बजार खोल्नु रहेको बताउँछन् ।
Facebook Comment
Comment