काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई २९८ रनको लक्ष्य दिएको छ ।
एक्स्ट्रा टेक ओभलमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको पुलिसले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा २९७ रन बनाएको हो ।
पुलिसका लागि कुशल भूर्तेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । कुशलले ९८ बलमा ११ चौका प्रहार गर्दै ८८ रन बनाए ।
यससँगै कुशल प्रधानमन्त्री कपमा १००० रन पूरा गर्ने सातौं खेलाडी बनेका छन् । यसअघि आरिफ शेख, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, अनिलकुमार साह, आसिफ शेख र रोहितकुमार पौडेलले १००० रनको कोसेढुङ्गा पार गरिसकेका छन् ।
दीपेन्द्रले ४६ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६० रन बनाए । अमित श्रेष्ठले ४८ र आरिफ शेखले ३८ रन बनाए ।
बागमतीका लागि प्रतिश जिसीले ३ विकेट लिए । सो क्रममा उनले १० ओभरमा ४६ रन खर्चे । रिजन ढकाल, इशान पाण्डे, साकार गजुरेल र विपिन आचार्यले १–१ विकेट लिए ।
Facebook Comment
Comment