जनकपुरधाम । धनुषाको सबैलामा प्रहरीले चलाएकाे गाेली लागि एकजना घाइते भएका छन् । धनुषाको सबैला नगरपालिका–९, भठिहन चोकमा दुई समूहबिचको झडप नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका हुन्।
घाइते हुनेमा स्थानीय २२ वर्षीय सन्तोष यादव रहेको धनुषाका प्रहरी प्रवक्ता वरुणबहादुर सिंहले जानकारी दिए । उनले चोकको नाम राख्ने विषयमा दुई समूहबिचको विवादले स्थिति तनावपूर्ण बनेपछि प्रहरीले त्यसलाई नियन्त्रणमा लिन गोली चलाउनु परेको बताए। उनका अनुसार गोली लागेर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ । झडपमा चोट लागेर अन्य दुई जना घाइते भएका छन् ।
भठिहन स्थित चोकमा केही दिन अघि ‘यादव चोक’ लेखिएको बोर्ड लगाएको थियो । त्यसपछि अन्य समुदायले सो बोर्ड उखेलेर हटाएपछि दुई समूहबिच तनाव बढ्दै गएको थियो । सोही विषयलाई लिएर आइतबार पनि दुई पक्षबिच झडप भएको थियो । प्रहरीले अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।
Facebook Comment
Comment