पञ्चायत जिताउन सर्पको छाला तस्करी, गणतन्त्रमा ज्ञानेन्द्र फर्काउने जिम्मेवारी

पञ्चायत जिताउन सर्पको छाला तस्करी, गणतन्त्रमा ज्ञानेन्द्र फर्काउने जिम्मेवारी

ज्ञानेन्द्र शाहलाई फेरि नारायणहीटीको कुर्सीमा फर्काउने अभियानको नेतृत्व गर्न कस्सिएका छन्, नवराज सुवेदी । सुवेदी पञ्चायतकालभरी सधैँ राष्ट्रिय पञ्चायत सदस्य थिए । पञ्चायतका ३० वर्षमा लगातार राष्ट्रिय पञ्चायतको सदस्य हुने दुई जनामध्ये सुवेदी एक हुन् ।

वि.स. २०१९ सालमा पहिलोपटक राष्ट्रिय पञ्चायत सदस्य भएका उनी २०४६ सालसम्म सत्ताका कुनै न कुनै पदमा निरन्तर रहिरहे । २०२४ जेठ १५ मा पहिलोपटक अर्थ सहायकमन्त्री भएका सुवेदीले पञ्चायतकालीन सत्तामा महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरे ।

सकेसम्म मन्त्रालयको नेतृत्व नै पाए । मन्त्रालयको नेतृत्व नपाउँदा उनी कहिले राष्ट्रिय पञ्चायतको अध्यक्ष भए भने कहिले ‘गाउँ फर्क अभियान’ का मस्यौदाकार बने । कहिले राष्ट्रिय पञ्च भेला समीतिको महासचिव ।

२०४६ सालको परिवर्तनपछि राजनीतिबाट टाढिएका सुवेदीले गणतन्त्रमा ज्ञानेन्द्र शाहलाई राजाका रूपमा फर्काउने अभियानको नेतृत्व लिएका छन् । यसको रोचक पक्ष त के छ भने, जोसँग आफ्नो सम्बन्ध नै सुमधुर थिएन उनैलाई राजा बनाउने कसरतमा ८६ वर्षिय बयोबृद्ध सुवेदी लागिपरेका छन् ।

सुवेदी र ज्ञानेन्द्रबीच कहिल्यै राम्रो सम्बन्ध भएन । महेन्द्र र वीरेन्द्रको शासनकालमा मन्त्री भएका सुवेदीले आफ्नो आत्मकथा ‘इतिहासको एक कालखण्ड’मा ज्ञानेन्द्रको ओमेगा घडी काण्डबारे लेखेका छन् ।

अघोषीत रूपमा ‘असुली धन्दा’मा सामेल रहेका ज्ञानेन्द्रले ओमेगा घडी उद्योगमा शेयर खोजेपछि ओमेगा नेपाल नआएको कुरा सुवेदीले आफ्नो आत्मकथामा नै लेखेका छन् ।

२०२५ सालमा कीर्तिनिधि विष्ट नेतृत्वको सरकारमा सुवेदी उद्योग वाणिज्यमन्त्री थिए । सुवेदीका अनुसार व्यापार, उद्योग र व्यवसायका विषयमा दरबारबाट हिमालय, बसुन्धरा र हेलेन सामेल हुने गर्थे । सरकारले गर्ने विभिन्न निर्णयमा उनीहरूबाट बारम्बार दबाब आउँथ्यो ।

सुवेदीले आफ्नो आत्मकथामा लेखेका छन्, ‘श्री ५ अधिराजकुमार हिमालय, बसुन्धरा र श्री ५ अधिराजकुमारी हेलेन तीनै जना व्यापारमा हुँदा उहाँहरूबाट बारम्बार दबाब आउँथ्यो । पछि श्री ५ अधिराजकुमार ज्ञानेन्द्र पनि थप होइबक्स्यो । राजा केही पनि नदे भन्ने तर, उहाँहरूलाई पूर्ण सहुलियत चाहिने ।’

यही शिलशिलामा स्विट्जरल्याण्डको विश्वप्रख्यात घडी उत्पादक कम्पनी ओमेगाले नेपालमा कारखाना खोल्ने इच्छा देखायो । यो कुरा सुवेदीले महेन्द्रलाई सुनाए । महेन्द्रले पनि विश्व बैङ्कको साधारण सभाको बैठकबाट फर्किने बेला घडी कारखाना हेरेर आउनु भनेर अह्राए ।

सुवेदी लेख्छन्, ‘वाशिङ्गटनबाट फर्किँदा म, भेषबहादुर (थापा) जी र डा. पुष्करनाथ पन्थ तीन जनाले ओमेगा फ्याक्ट्री हेर्‍यौँ । र, नेपालमा पनि खोल्नेबारे कुरा गर्‍यौँ ।’

यो कुराकानीमा ओमेगाले एउटा सर्त राख्यो – कसैसँग पनि साझेदारी नगर्ने । सुवेदीले लेखेका छन्, ‘उनीहरूको एउटै मात्र सर्त हामी सरकार या प्राइभेट कसैसँग पनि साझेदारीमा काम गर्देनौँ भन्ने थियो । यो सर्त मञ्जुर हुन्छ भने एक वर्षभित्र फ्याक्ट्री चालू गर्छौँ भन्ने उनीहरूको भनाइ थियो ।’

सुवेदीको टोलीले पनि विश्वविख्यात कम्पनीको फ्याक्ट्री नेपालमा खोल्दा राम्रै हुने ठाने । त्यहीकारण उनीहरूले ओमेगालाई नेपाल ल्याउने मञ्जुरी दिने निर्णय गरे । तर, उनीहरूको मञ्जुरीले मात्र कहाँ हुन्थ्यो र ?

‘काठमाडौं आएपछि श्री ५ अधिराजकुमार ज्ञानेन्द्रलाई त्यसमा आधा सेयर (अंश) चाहियो, जुन कुरा मैले ठाडै इन्कार गरेँ । यसैकारण नेपालमा ओमेगा पनि आउन सकेन ।’

यही कारण ज्ञानेन्द्रसँग आफ्नो सम्बन्ध बिग्रेको सुवेदीले किताबमा लेखेका छन् ।

यस बाहेक एउटा अर्को कारणले पनि ज्ञानेन्द्र सुवेदीसँग रिसाएका थिए । जनमत संग्रहपछि २०३८ को जेठमा राष्ट्रिय पञ्चायतबाट नयाँ प्रधानमन्त्री छान्नुपर्ने भयो । ज्ञानेन्द्रको चाहाना थियो, सुवेदी पनि प्रधानमन्त्रीको उम्मेद्धवार बनुन् । तर, सुवेदी ज्ञानेन्द्रको चाहाना अनुसार प्रधामन्त्रीको उम्मेदवार बनेनन् । अर्को उम्मेदवार नभएपछि सूर्यबहादुर थापा निर्विरोध प्रधानमन्त्री निर्वाचित भए ।

यी दुई घटनाले ज्ञानेन्द्र र सुवेदीबिच कहिल्यै राम्रो सम्बन्ध भएन । सुवेदी लेख्छन्, ‘श्री ५ ज्ञानेन्द्रसँग मेरो सम्बन्ध सुरूदेखि नै राम्रो भएन । पछि श्री ५ होइबक्सँदा पनि मसँग राम्रो व्यवहार हुन सकेन ।’

राजा भएपछि ज्ञानेन्द्रसँग सुवेदीको एकपटक भेट भएको थियो । सुवेदीका अनुसा उनले त्यो भेटमा राजालाई बहुदलीय व्यवस्था नमास्न सुझाव दिएका थिए । आफ्नो सुझाव ज्ञानेन्द्रलाई मन नपरेको कुरा पनि उनले किताबमा लेखेका छन । उनी ज्ञानेन्द्रको मुल्यांकन गर्दै भन्छन्, ‘उहाँको कामकारबाही हेर्दा लाग्दथ्यो उहाँ पञ्चायत नै नभएपछि त्यस्तै प्रकारको व्यवस्था गरी शासन गर्न चाहिबक्सन्थ्यो । जुन कुरा समयको गतिसंग मेल खान सकेन ।’

२०२४ मा अर्थ सहायकमन्त्री हुँदा सुर्य बहादुरको अनुरोधमा उनले ‘गाउँ फर्क’ राष्ट्रिय अभियानको मस्यौदा तयार पारे । उक्त मस्यौदा लेख्नका लागि सुवेदी १५ दिन ककनी गेष्ट हाउसमा बसेका थिए ।

ज्ञानेन्द्रको ओमेगा र पानीजहाज काण्ड

जनमत संग्रह र सर्पको छाला तस्करी

२०३६ जेठ ९ मा वीरेन्द्रले ‘सुधारीएको पञ्चायत कि बहुदल’ भनेर जनमत संग्रह गर्ने घोषणा गरे । जनमत संग्रहका लागि पहेँलो रंग पञ्चायतका लागि छुट्याईयो भने निलो रंग बहुदलका लागि ।

जनमत संग्रह घोषणा भएपछि प्रचारप्रसार र कार्यकर्ता परिचालनका लागि पैसा आवश्यक पर्ने भयो । पञ्चायतले जितोस् भन्ने चाहाना राखेपछि वीरेन्द्रले पञ्चायत र बहुदल कसैलाई सहयोग गरेनन् । सूर्यबहादुर थापाको किताब ‘मेरा नौ दशक, पाँच व्यवस्था, पाँच राजा, पाँचपटक प्रधानमन्त्री’ मा लेखिए अनुसार पञ्चायतको पक्षमा रानी ऐश्वर्यले सहयोग गर्न खोजेकी थिईन् । तर, थापाले राजपरिवारको सहयोग लिएनन् ।

जनमत संग्रहमा पञ्चायतलाई जिताउनका लागि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा नै कस्सिए । थापाले सुवेदीलाई चुनाव खर्च जुटाउन निर्देशन दिए । त्यतिखेर सुवेदी ‘राष्ट्रिय पञ्च भेला समीति’का महासचिव थिए ।

थापाले सुवेदीलाई सोधे, ‘पञ्चायतलाई जिताउन कति रकम चाहिएला ?’

सुवेदीले थापालाई जवाफ दिए, ‘मेरो धारणामा करिब तीन करोड पचास लाख जति भए पञ्चायतलाई जिताउन सकिन्छ ।’

त्यसपछि थापा र सुवेदी उद्योगी व्यापारीसँग पैसा माग्न थाले । तर, पञ्चायतलाई जिताउन आवश्यक पर्ने पैसा कतैबाट जोहो हुने छाँट देखिएन ।

त्यसपछि थापाले सुवेदीलाई भने, ‘नवराजजी, कुनै एक व्यापारी समाउनुस् । कुन सर्तमा दिन्छ सोध्नुस् र एकै जनासँग साढे तीन करोड लिने व्यवस्था गर्नुस् ।’

सुवेदीले आफू उद्योग वाणिज्यमन्त्री हुँदाको सम्पर्कसुत्र प्रयोग गरे । उनी पुगे पुनमचन्द्र अग्रवालको घरमा । अग्रवालले आफूले साढे तीन करोड दिन नसक्ने तर, त्यति रकम दिन सक्ने मान्छे भेटाईदिने वचन दिए ।

पुनमचन्द्र अग्रवालले एकजना व्यापारीलाई भेटाइ दिए । सुवेदीले लेखेका छन, ‘पुनमसँग एउटा मोटो, कालो धम्मरधुस् व्यक्ति बसेर गफ गरिरहेको थियो । पुनमले मसँग त्यस व्यक्तिको परिचय गराए । ती रहेछन्, नाम चलेका व्यापारी चोथमल जाटिया । यिनको ठूलो कारोबार थियो । यिनलाई दुईनम्बरी व्यापारको जनक पनि भनिन्थ्यो । त्यस समयमा यस धन्दामा उनको एकछत्र राज थियो ।’

जटिया गैरकानूनी व्यापारमा सामेल व्यक्ति भए पनि सुवेदीलाई पैसा चाहिएको थियो – पञ्चायतलाई जिताउन । सुवेदीले लेखेका छन, ‘त्यसबेला मलाई एकनम्बरी, दईनम्बरी केही मतलब थिएन । खालि पञ्चायत जिताउन पैसा चाहिएको थियो ।’

चोथमल जटियासँग कुराकानी भएपछि उनले पैसा दिने भए तर, सर्तसहित मात्रै । जटियाले सुवेदीसँग भने, ‘पञ्चायत जिताउन खालि साढे तीन करोड चाहिएको छ । यो त साहै लाजमर्दो कुरा भयो । म आजै दिनसक्छु तर, पैसा दिने भएपछि मैले केही सुविधा पनि पाउनुपर्छ ।’

सुविधाका नाममा उनले आफ्ना सर्त राखे । जटियाले सर्त तेर्स्याउन थाले, ‘मेरा तीन सर्त छन् – पहिलो, गृहमा कारबाही हुँदै छ, चाँडै नागरिकता पाऊँ । दोस्रो, एक ठूलो कटन अत (सुती कारखाना) काठमाडौंमा खोल्न पाऊँ । तेस्रो, मसँग सर्पको छाला छ, विदेश निकासी गर्न पाऊँ ।’

यी सर्त मानेमा साढे तीन करोड मात्र होइन पञ्चायतलाई जति पैसा चाहिन्छ दिन तयार रहेको जटियाले सुनाए ।

त्यसपछि यी सर्त बोकेर सुवेदी थापालाई भेट्न पुगे । थापा जटियाका ती सर्तहरू मान्न तयार भए । ‘नवराजजी, तपाईंले आज ठूलो काम गर्नुभयो । तपाईंलाई धन्यवाद छ,’ थापाले सुवेदीलाई भने । त्यही साँझ जटिया र प्रधानमन्त्री सूर्यबहादुर थापाको भेट भयो ।

थापाको किताबमा लेखिएको छ, ‘भारतबाट सर्पको छाला जम्मा गरी नेपाल ल्याउने र यहाँबाट तिब्बत निर्यात गर्ने योजना सुनाए । भन्सारको दरबन्दी बनाएर ती व्यापारीलाई लाइसेन्स दिइयो ।’

त्यसपछि पैसा चाहिएको बेला जटियासँग भेटर सुवेदीले ल्याउन थाले । जनमतसंग्रह हुने दिन नजिकिँदै गर्दा देशभरबाट बुथ खर्च माग हुन थाल्यो । यता सुवेदी र थापाले जटियासँग साढे तीन करोड रुपैयाँ लिइसकेका थिए ।

पञ्चायत जिताउनका लागि देशभरका बुथमा पठाउन भनेर करिब एक करोड रुपैयाँ चाहिएको थियो । कतैबाट पैसाको जोहो हुने छाँट नदेखिएपछि सूर्यबहादुर थापाले राती १२ बजे सुवेदीलाई जटियाबाट पैसा लिने काम अह्राए । ‘नवराजजी, भए एक करोड, नभए पनि पचास लाख चोथमल जटियासँग लिनुस् । अहिले नै उसको घरमा गई पैसा माग्नुहोस् । बिहान ७ बजे त जिल्लामा जाने व्यक्तिहरू पैसा लिन आइपुग्छन् ।’

त्यसपछि राती नै सुवेदी जटियाको घर पुगे । निदाएका जटियालाई उठाएर पैसा मागे । पञ्चायतलाई सहयोग गरेर सर्पको छाला तस्करी गर्न पाइरहेका जटियाले पनि चुपचाप पैसा दिए ।

सुवेदी लेख्छन्, ‘मेरो कुरो सुनेपछि उनले एक शब्द केही नभनी सेफ खोले । त्यहाँ भएको सबै रकम झिके । जम्मा साठी लाख रहेछ ।’

साठी लाख रुपैयाँ सुवेदीको हातमा थमाउँदै जटियाले भने, ‘मन्त्रीज्यू यो रकम लैजानुस् र पञ्चायतले जितोस् ।’

पञ्चायतलाई चुनाव जिताउन सहयोग गर्ने जटियाका तीन वटा मागमध्ये एउटा पनि माग पुरा गर्न नसकिएको लेखेका छन्, सुवेदीले । तर, सूर्यबहादुर थापाको किताबमा भने भन्सारको दरबन्दी बनाएरै जटियालाई सर्पको छाला ल्याउने अनुमति दिएको उल्लेख छ ।

सुवेदीका अनुसार जनमत संग्रहमा पञ्चायतले जितेको केही महिनापछि जटियाको मृत्यु भयो । नागरिकता नपाइकनै मरेपनि जटियाका छोराहरू भने नेपालमै व्यवसाय गरिरहेको सुवेदी र थापा दुवैले लेखेका छन् ।

जटियालाई ठूलो मुटु भएका मान्छे भन्दै सुवेदी प्रसंशासहित पुस्तकमा लेख्छन्, ‘पैसा धेरैसँग हुनसक्छ । तर ठूलो मुटु कमैसँग हुन्छ । हिम्मत पनि कमैसँग हुन्छ । चोथमल जटियासँग हिम्मत र मुटु दुवै विशाल थिए ।’

क्रान्तिकारीदेखि पञ्चायतका प्रवर्द्धक

रामेछापका सुवेदी १९९५ चैत २० मा जन्मिएका हुन । २०१३ मा एसएलसी पास गरेपछि काठमाडौं पढ्न आएका उनी त्रिचन्द्र कलेजमा भर्ना भए । कलेजमा हुँदा उनी विद्यार्थी राजनीतिमा थिए । उनी आफूले नै विश्वविद्यालयमा युनियन (छात्रसंगठन) खोलेको दाबी गर्छन । ‘मैले नै त्रिभुवन युनिभर्सिटीमा युनियन (छात्रासंगठन) खोली विद्यार्थी युनियननको पहिलो सभापती भएँ,’ उनको दाबी छ ।

उनका अनुसार विद्यार्थी युनियनबाट देउराली नामको पत्रिका समेत निकाल्न थालेका थिए । भर्खर पञ्चायत व्यवस्था सुरु भएको समयमा आफूहरू भने पञ्चायत विरोधी रहेको उनको दावी छ ।

‘म प्रजातन्त्रवादी छात्र थिएँ । त्यसबेला भर्खर पञ्चायत व्यवस्था सुरू भएको थियो । तर, हामी यसको विरोधमा थियौं,’ उनले लेखेका छन् ।

२०१९ को जाडो बिदामा उनी गाउँ गएका थिए । गाउँ गएका बेला उनका हजुरबुबाले उनलाई पञ्चायती चुनावमा उम्मेद्धवार बनाए ।

‘हजुरबुबाको भनाइको प्रतिवाद गर्दै म नउठ्नेमा पुगें । यो पञ्चायतव्यवस्था राजाले प्रजातन्त्र मासेर मनपर्दी शासन गर्न ल्याइएको हो– यसमा म कुनै हालतमा पनि भाग लिन्नँ,’ सुवेदीले हजुरबालाई भने ।

त्यसपछि हजुरबाले घुर्कि लगाए, ‘हुन्छ, तेरो इच्छा तँ गर्, मेरो इच्छा म गर्छु । तँ चुनाउ नलड्ने भए अहिलेबाटै अन्न त्यागी प्राण दिन्छु ।’

सुवेदीका अनुसार उनका हजुरबुबा आमरण अनसनमा बसे । गाउँले, छरछिमेक सबैले हजुरबुबाको ज्यान जोगाउन भएपनि चुनाव उठनुपर्छ भनेपछि सुवेदी उम्मेदवार बने ।

सुवेदी लेख्छन, ‘चुनाउ उठेँ । निर्विरोध जिल्ला सभासद् भएँ । यसरी नचाहँदा नचाहँदै म पञ्चायतमा प्रवेश गर्न पुगें । युनिभर्सिटीको म क्रान्तिकारी विद्यार्थी, प्रजातन्त्रवादी, बहुदलको पक्षधर, नचाहँदा पनि निर्दलीय पञ्चायत व्यवस्थामा हजुरबाको ढिपीले गर्दा पस्नुपर्यो । पसे तापनि मेरो पञ्चायतप्रति लगाउ थिएन ।’

पञ्चायतप्रति लगाव नभए पनि उनी रामेछाप जिल्लाको पहिलो पञ्चायत सभापति भए । त्यसपछि त उनले पछाडि फर्केर हेर्नु नै परेन । विश्वविद्यालयका क्रान्तिकारी सुवेदी पञ्चायतको सत्ता स्वाद चाखेपछि ३० वर्ष लगातार सत्ता र शक्तिमा रहे ।

पञ्चायतमा प्रधानमन्त्री बाहेक लगभग सबै पद पाएका उनलाई जीवनको यो उत्तरार्धमा ज्ञानेन्द्रलाई फर्काउने जोश चढेको छ । राजनीति गर्ने इच्छा छैन भनेर घोषणा गरेका सुवेदी आज ज्ञानेन्द्रलाई राजाका रूपमा पुनःस्थापित गराउने अभियानको नेतृत्व गर्न कस्सिएका छन । ‘७२-७३ वर्षको भैसकेँ । अब शारीरिक रूपमा डाँडाकाँडा घुमी राजनीति गर्ने शक्ति पनि छैन, वातावराण पनि छैन,’ २०६९ मा प्रकाशित आफ्नो आत्मकथामा उनले लेखेका छन् । आज ८६ वर्षको उमेरमा सुवेदीलाई राजनीतिमा फर्काउन के शक्ति आयो ? के वातावराण बन्यो ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप फिचर

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved