गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए एसईई परीक्षा प्रक्रियाबाट अलग्गिने मधेस प्रदेश सरकारको चेतावनी

नेपालभ्युज

गोलाप्रथाबाट केन्द्राध्यक्ष नियुक्ति नभए एसईई परीक्षा प्रक्रियाबाट अलग्गिने मधेस प्रदेश सरकारको चेतावनी

जनकपुरधाम । माध्यमिक शिक्षा परीक्षा (एसईई)को केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट नभए परीक्षा प्रक्रियाबाट अलग हुने मधेस प्रदेश सरकारले चेतावनी दिइएको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहका प्रेस सल्लाहकार अनिलकुमार कर्णले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिको निर्णयका आधारमा गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन नभए प्रदेश सरकारले एसईई परीक्षा सञ्चालन प्रक्रियामा सामेल नहुने स्थिति आउन सक्ने चेतावनी दिइएको हो ।

मुख्यमन्त्री सिंहले प्रदेशको शैक्षिक अवस्थामा सुधारका लागि विद्यमान परीक्षा प्रणालीका प्रक्रियाहरूमा सामयिक सुधार ल्याउन केन्द्राध्यक्ष नियुक्ति गोलाप्रथाबाट हुनुपर्ने सम्बद्ध निकाय तथा अधिकारीहरूलाई निर्देशन दिएको पनि विज्ञप्तिमा उल्लेख छ । सोहीअनुसार प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले गोलाप्रथाबाट केन्द्राध्यक्ष चयन गर्ने निर्णय गरी कार्यान्वयनका लागि जिल्ला परीक्षा समन्वय समितिलाई पठाइए पनि सो निर्णयविपरीत विभिन्न जिल्लामा साबिकको व्यवस्थाबमोजिम सम्बन्धित विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष नियुक्त गर्ने प्रक्रिया अघि बढाइएको बुझिएको विज्ञप्तिमा जनाइएको छ ।

‘राष्ट्रिय परीक्षा बोर्ड नियमावलीमा परीक्षा सञ्चालनका लागि आवश्यक पर्ने परीक्षा केन्द्र निर्धारण गर्ने र केन्द्राध्यक्ष तथा अन्य कर्मचारीको नियुक्ति एवम् परीक्षा सञ्चालन गर्दा जिल्लास्थित जिल्ला परीक्षा समवय समितिसँगको समन्वयमा प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले गर्ने व्यवस्था हुँदाहुँदै बोर्डले जारी गरेको निर्देशिकामा केन्द्राध्यक्षको नियुक्ति परीक्षा केन्द्र रहेकै विद्यालयका प्रधानाध्यापकलाई जिल्ला परीक्षा समन्वय समितिको सिफारिसमा शिक्षा विकास तथा समन्वय एकाई प्रमुखले गर्ने भन्ने आधारमा कुरा फरक, विरोधाभाषी र अनर्गल भएको पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ,’ केन्द्राध्यक्ष नियुक्तिलगायतका विषयमा नियमावलीमा स्पस्ट रूपमा सुपरिभाषित, सुनिश्चित र निर्दिष्ट हुँदाहुँदै पनि निर्देशिकामा उल्लिखित प्रावधानका नाउँमा जिल्ला परीक्षा समन्वय समितिका सदस्यसचिव समेत रहने शिक्षा विकास तथा समन्वय एकाई प्रमुखका यथास्थितिवादी सोच, स्वार्थप्रेरित शैली र दूराग्रही व्यवहारका कारण त्यस्तो हुने स्थिति आएको आकलन गरिएको छ ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved