काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रममा सुधारका निम्ति नयाँ कार्ययोजना सार्वजनिक भएको छ ।
आइतबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मन्त्रालयका तत्कालीन अतिरिक्त सचिव डा. दिपेन्द्ररमण सिंहको संयोजकत्वमा दुई महिनाअघि गठन गरिएको कार्यदलको प्रतिवेदनका आधारमा कार्ययोजना प्रस्तुत गरेका हुन् ।
जसमा स्वास्थ्य बीमा सुधारका विभिन्न चरणहरूलाई औँल्याइएको छ । तीनदेखि सात वर्षभित्र कडा रोगका लागि स्वास्थ्य बीमा सेवाको दायरा एक लाख बाट बढाएर पाँच लाख पुर्याउन सम्भव रहेको कार्ययोजनामा उल्लेख छ ।
कार्ययोजना सार्वजनिक गर्दै मन्त्री पौडेलले बीमाको दायरा पाँच लाख पुर्याउन सम्भव रहेको प्रतिवेदनले देखाएको बताए ।
राज्यकोषबाट तलबभत्ता लिने सबै तहका कर्मचारी, जनप्रतिनिधि, सङ्गठित क्षेत्रका कर्मचारीको तलबबाट एक प्रतिशत रकम कट्टा गरी बीमा कोषमा जम्मा गरेर स्रोत व्यवस्थापन गर्न सकिने उनको भनाइ छ ।
यस्तै, अनौपचारिक क्षेत्र र विदेशी पर्यटकलाई समेत बीमामा आबद्ध गर्न प्याकेज बनाइने, सेवा प्रयोग नगरेको वर्षको सुविधा रकम अर्को वर्ष जटिल रोगमा उपचार गर्न प्रयोग गर्ने व्यवस्था पनि कार्ययोजनामा उल्लेख छ ।
कार्ययोजनामा मासिक, वार्षिक हुँदै सात वर्षसम्म गर्नुपर्ने सुधारहरूको वर्गीकरण गरेर ५० बुँदामा योजना प्रस्तुत गरिएको छ । त्यसका निम्ति राज्यले नै बीमालाई राष्ट्रिय गौरवको योजना बनाएर अघि बढ्नुपर्ने मन्त्री पौडेलको भनाइ छ ।
Facebook Comment
Comment