काठमाडौं। अमेरिकाले यमनमा हुथी विद्रोहीमाथि गरेको हवाई आक्रमणमा मृत्यु हुनेको सङ्ख्या ३१ पुगेको छ ।
लाल सागर हुँदै जाने पानी जहाजमाथि आक्रमण नगर्न अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथी विद्रोहीलाई चेतावनी दिएपश्चात सो आक्रमण भएको हो ।
शनिबार सुरु भएको आक्रमण आइतबार पनि जारी नै छ । आक्रमणमा १०० भन्दा धेरै घाइते भएको अलजजिराले जनाएको छ ।
घाइते हुनेमा बालबालिका र महिलासमेत रहेको यमनको स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनिस अल–असबाहीले बताएका छन् ।
यमनी मिडियाका अनुसार हज्जाह, मारिब, धमार, र ताइजमा पनि अमेरिकाले हवाइ आक्रमण गरेको थियो । हुथी विद्रोहीले भने सो आक्रमणको जवाफ दिने बताएको छ ।
ट्रम्पले सामाजिक सञ्जालमा घातक बलको प्रयोग गर्नुको साथै इरानलाई पनि हुथीलाई दिइएको समर्थन तत्काल फिर्ता लिन भनेका छन् ।
उनले लेखेका छन्, ‘मैले आज अमेरिकी सेनालाई यमनमा रहेका हुथीविरुद्ध निर्णायक र शक्तिशाली सैन्य कारबाही थाल्न आदेश दिएको छु । आफ्नो लक्ष्य हासिल नभएसम्म अपार घातक शक्ति प्रयोग हुने स्पष्ट पार्दछु ।’
अमेरिकालाई धम्की दिएमा इरानलाई पनि पूर्ण रूपमा जिम्मेवार ठान्ने ट्रम्पले लेखेका छन् ।
यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले अमेरिकी आक्रमणको निन्दा गर्दै वाशिङ्टनलाई आफ्नो परराष्ट्र नीतिमा हस्तक्षेप गर्ने कुनै अधिकार नभएको बताएका छन् ।
Facebook Comment
Comment