स्ववियु निर्वाचन : शङ्करदेवसहित केही क्याम्पसमा विवादका कारण हुन सकेन मनोनयन दर्ता

नेपालभ्युज

स्ववियु निर्वाचन : शङ्करदेवसहित केही क्याम्पसमा विवादका कारण हुन सकेन मनोनयन दर्ता
दाङको घोराही उपमहानगरपालिका–१५ स्थित महेन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन समितिको कार्यालयमा आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि मङ्गलबार उम्मेदवारी मनोनयन दर्ता गर्दै विद्यार्थी । तस्वीर : कुलदीप न्यौपाने/रासस

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मङ्गलबार देशभरका अधिकाङ्श क्याम्पसमा उम्मेदवारी दर्ता गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय, विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अधिकाङ्श आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा मङ्गलबार विभिन्न विद्यार्थी सङ्गठनले निर्वाचनका लागि प्रत्यक्ष तथा सामानुपातिकतर्फका उम्मेदवारको मनोनयन दर्ता गराएको जानकारी दिए । उनका अनुसार आज विहान ११ देखि साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको थियो ।

काठमाडौं उपत्यकाका शङ्करदेव, विश्वभाषा, नेपाल ल, पब्लिक युथ, ग्रामीण आदर्श बहुमुखी, पिपुल्स, पद्यकन्या बहुमुखी क्याम्पसमा भने विवादका कारणले मनोनयन दर्ता नभएको उनले बताए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का उपाध्यक्ष नारायण घर्तीले आफ्नो सङ्गठनले अधिकाङ्श क्याम्पसमा मनोनयन दर्ता गराएको जानकारी दिए । नेपाल विद्यार्थी सङ्घका प्रवक्ता सुरज सेजुवालले पनि ठूला क्याम्पससहित देशभरि नै उत्साहपूर्वक उम्मेदवारी मनोनयन दर्ता गरेको बताए । अखिल (क्रान्तिकारी)का महासचिव रोशन मगरले सङ्गठनले अधिकांश क्याम्पसमा आज उम्मेदवारी दर्ता गराएको बताए ।

त्रिविले स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि यही फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्मका लागि समय तोकेको छ । निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved