बालिका बान्तवाको उपन्यास प्याउली सार्वजनिक

नेपालभ्युज

बालिका बान्तवाको उपन्यास प्याउली सार्वजनिक

काठमाडौं । कवि तथा आख्यानकार बालिका बान्तावाको उपन्यास ‘प्याउली’ विमोचन भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रमबीच उपन्यास विमोचन भएको हो ।

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर गरिएको कृति सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार उषा शेरचन र वक्ताहरू साहित्यकार तथा समालोचक डा. बिन्दु शर्मा र कवि/पत्रकार तथा संचारिका समूहकी अध्यक्ष विमला तुम्खेवा थिए ।

झापा घर भई हाल हङकङमा बसोवास गर्दै आएकी साहित्यकार बान्तावाको यो पहिलो कृति हो । यस उपन्यासभित्र आफ्नै भोगाइहरू भेटिने बान्तावाको दाबी छ ।

कृतिबारे बोल्दै प्रमुख अतिथि साहित्यकार शेरचनले ‘प्याउली’ले पाठकलाई तान्ने बन्दै यो सफल उपन्यास रहेको बताइन् । शेरचनले सबै कुराको अनुभव गर्नु जरुरी रहेको पनि बताइन् । ‘चाहे प्रेम होस्, चाहे सबै कुरा अनुभव गर्नु पनि जरुरी छ । तर हामीले चाहीँ के गर्छौ ? प्रेम चाहीँ लुकाएर गछौं, घृणा चाहीँ देखाएर गर्छौं’, उनको प्रश्न थियो, ‘प्रेम किन लुकाउने ? कसैलाई कसै मनपर्छ त्यो लुकाउनुपर्ने आवश्यकै छैन । खुलेर गर्नोस् । मन पर्दैन छुटिनोस्, कुनै ठूलो कुरा भएन । फेरि जोडिनोस्, त्यो पनि ठूलो कुरा भएन ।’

‘प्याउली’ उपन्यासबारे बोल्दै तुम्खेवाले यो उपन्यास हृदयले पढ्नुपर्ने टिप्पणी गरिन् । ‘यो किताब पढिरहँदा तपाईको सिद्धान्तलाई एकठाउँमा थन्काएर हृदयबाट पढ्नुपर्छ जस्तो लाग्यो । यो किताब पढिरहँदा मैले धेरै विश्वप्रसिद्ध प्रेमकहानीहरू सम्झिएँ’, उनले भनिन् । यसमा कतिपय ठाउँमा आफैले बाँचेको जिन्दगी सम्झिएको पनि उनले बताइन् ।

यस्तै, समालोचक डा. शर्माले लेखकले आख्यानको माध्यमबाट आफ्नो भोगाइ लेखेको भन्दै यो लेखकको मात्रै भोगाइ नभएर धेरैको भएको बताइन् । उनले भनिन्, ‘यो कथा, यो भोगाई बालिकाजीको मात्रै हैन । हामी धेरैको भोगाइ हो । भलै हामी कोही बिछोडिएर जोडिएका होला, कोही सम्झौता गरेर बसेका हौंला तर भोगाइहरू एकै हुन् ।

सर्जक बान्तावाले आफू कम बोल्ने स्वभाव भएको र कम बोल्ने स्वभावले नै लेखक बनाएको बताइन् । ‘मभित्र धेरै उकुसमुकुसहरू थिए । भन्नुपर्ने केही कुराहरू थिए, जसलाई नभन्दासम्म मैले आफूलाई सन्चो भएको महसुस गर्न सकिनँ । मैले ती उकुसमुकुसलाई कतै न कतैबाट पोख्नु थियो । त्यही उकुसमुकुसलाई पोख्ने माध्यम खोज्दा यो पुस्तकको जन्म भयो’, उनले प्रष्ट्याइन्, ‘म यस पुस्तकको प्रमुख पात्र भएर आएकी छु ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved