सभापतिमा उम्मेदवारी दिने खड्काको सङ्केत- देउवासँग गरे राजनीतिक यात्राको तुलना

नेपालभ्युज

सभापतिमा  उम्मेदवारी दिने खड्काको सङ्केत- देउवासँग गरे राजनीतिक यात्राको तुलना

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न १५औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने संकेत गरेका छन्।

रुपन्देहीमा हुन लागेको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा  संस्थापन पक्षमा रहेका खड्काले सभापति शेरबहादुर देउवासँग आफ्नो राजनीतिक यात्रा मिल्दोजुल्दो रहेको बताउँदै सभापतिका लागि आफू तयार रहेको संकेत गरेका हुन्।

आफ्नो उम्मेदवारीको सम्भावना औंल्याउँदै उनले भने, “म आफैं पनि नेविसंघको साधारण सदस्य, इकाइ सदस्य, सभापति, नेविसंघको केन्द्रीय सदस्य, जिल्ला उपाध्यक्ष र अध्यक्ष हुँदै अहिले उपसभापति छु, कांग्रेस भनेको स्वच्छ प्रतिस्पर्धा र सम्भावना भएको  पार्टी हो।”

उनले देउवा पनि आफूजस्तै तल्लो तहबाटै नेतृत्वमा आएको स्मरण गर्दै कांग्रेसमा सबै तहको नेतृत्वसँग गुनासो राख्न सक्ने गरी नेतृत्व विकास भएको बताए।

खड्काले पार्टीको केन्द्रीय समितिले निर्णय गरेपछि त्यो पार्टीको नीति बन्ने बताए। उनले सामाजिक सञ्जाल विधेयकलाई संशोधन गरेर मात्र पारित गर्ने कांग्रेसको औपचारिक धारणा रहेको जानकारी दिए। सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित बनाउने र नकारात्मक कामलाई नियमन गर्नेतर्फ पार्टीले ध्यान दिने उनले बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved