महाशिवरात्रि तथा सेना दिवसको अन्तिम पूर्वाभ्यास हेर्न प्रधानसेनापति सिग्देल पुगे टुँडिखेल 

नेपालभ्युज

महाशिवरात्रि तथा सेना दिवसको अन्तिम पूर्वाभ्यास हेर्न प्रधानसेनापति सिग्देल पुगे टुँडिखेल 
युनिटी जर्नलको छैटौँ संस्करण विमोचन गर्दै प्रधानसेनापति अशोकराज सिग्देल ।
काठमाडौं । नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा सोमबार सैनिक मञ्च टुँडिखेलमा आयोजित महाशिवरात्रि तथा सेना दिवसको अन्तिम पूर्वाभ्यास कार्यक्रम सम्पन्न भएको छ ।

प्रधानसेनापति अशोकराज सिग्देलले उक्त कार्यक्रमको पूर्वाभ्यास निरीक्षण गरेका थिए । कार्यक्रममा उनले श्री चरक बाहिनीलाई युनिट झण्डा प्रदान र केन्द्रीय तहको युद्धकार्य तयारीपन निरीक्षणमा सर्वोत्कृष्ट भएको श्री मध्य पूर्वी पृतनालाई पुरस्कृत गरेका थिए ।

सो अवसरमा उनले प्रकृति संरक्षण ट्रफी प्रतियोगिताअन्तर्गत गण तथा गुल्म तहमा प्रथम हुन सफल चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ श्री नयाँ गोरख गण र ढोरपाटन सिकार आरक्ष सुरक्षार्थ तैनाथ श्री देविबक्स गुल्मलाई प्रकृति संरक्षण ट्रफी तथा नगद पुरस्कार प्रदान गरे ।

प्रधानसेनापति सिग्देलले सेना दिवसको अवसरमा प्रधानसेनापति प्रशंसा निशान प्राप्त गर्नुहुने रथीवृन्द, अधिकृत, पदिक तथा अन्य दर्जालाई प्रधानसेनापति प्रशंसा निशान प्रदान गर्नुका साथै मानार्थ उपसेनानी दर्जामा पदोन्नति भएका पदिकलाई दज्र्यानी चिन्ह प्रदान गरेका थिए ।

कार्यक्रममा प्रधानसेनापतिले अवकाशपश्चात् पनि विभिन्न तवरबाट समाजमा पुर्याएको योगदानको कदरस्वरूप उत्कृष्ट भूतपूर्व सैनिक तथा परिवारजनलाई पुरस्कृत गरे ।

नेपाली सेनाले हरेक वर्ष महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ । यस वर्षको सेना दिवस यही फागुन १४ गते सैनिक मञ्च टुँडिखेलमा विविध कार्यक्रमका साथ मनाइँदै छ । सो कार्यक्रममा नेपाली सेनाका साथै संयुक्त राज्य अमेरिका, बेलायत र भारतीय सेनाका व्याण्ड टोलीबाट संयुक्त साङ्गीतिक प्रस्तुति हुने सेनाले जनाएको छ ।

युनिटी जर्नल छैटौँ संस्करण विमोचन

नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा नेपाली सेनाद्वारा आयोजित खुला सामरिक लेखरचना प्रतियोगिता–२०८१ मा छानिएका रचनाको सँगालो युनिटी जर्नलको छैटौँ संस्करण विमोचन गरिएको छ । प्रधानसेनापति सिग्देलले सोमबार विमोचन गरेको जर्नलमा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय महत्वका सामरिक विषयमा आधारित उत्कृष्ट लेख रचनाहरूलाई समावेश गरी प्रकाशन गरिएको हो ।

खुला सामरिक लेखरचना प्रतियोगिता–२०८१ मा प्रथम, द्वितीय र तृतीय हुने लेखकहरू क्रमशः सहायकरथी माधव थापा, महासेनानी ईश्वर बुढाथोकी र सन्तोष बुढाथोकीलाई प्रधानसेनापति सिग्देलले जङ्गी अड्डामा आयोजित समारोहमा नगद पुरस्कार तथा कदरपत्र प्रदान गरे । प्रधानसेनापतिले उक्त जर्नलका मूल्याङ्कन तथा सम्पादक मण्डलका सदस्यका साथै लेखकहरूलाई कदरपत्र प्रदान गरेका थिए ।

विमोचन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, प्राध्यापक वर्ग, रथीवृन्द, विषय विज्ञ तथा सम्पादक मण्डल, लेखकलगायत नेपाली सेनाका अधिकृत, पदिक तथा अन्यदर्जाको उपस्थिति थियो । –रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved